जीवनभर राजनीति मात्र गरिरहने अरु केही पनि नगर्ने, मर्नेबेलासम्म कुर्सी मात्र रोजिरहने प्रवृत्तिको पछिल्लो नाम हो, प्रचण्ड। संवैधानिक राजसंस्था नमान्ने तर गणतन्त्रको माला जपिरहने। गणतन्त्र पनि कार्यान्वयनमा ल्याउन नसक्ने। जसरी शिखण्डी उभिएर भिष्म बधमा अर्जुनलाई प्रयोग गरे, प्रचण्डले गिरिजालाई राष्ट्रपतिको लोभ देखाएर राजालाई किनारा लगाएको स्वीकार गर्नुपर्छ। कहिले हिङ, कहिले चील भनेर कराउने र उड्ने मनोवृत्ति थचक्क भैसकेको अवस्थामा अहिले ठूला दलविरुद्ध बाहिर कराउने र भित्र भित्र लम्पसार परिरहने प्रवृत्ति राजनीति होइन, यो दुशासन चरित्रको खेल हो भन्नुमा कुनै आपत्ति हुने छैन। असल राजनीतिक चरित्र प्रचण्डमा कहिले पनि देखा परेन। प्रतिशोधपूर्ण र हिंसात्मक पृष्ठभूमीमा उठेको दलले दिएको चोटपटक अहिले पनि मानिसका आङमा छन्। ति आङले आराम पाउनुअघि सत्ताको चरम सुख र भ्रष्ट सुखमा रमाएर फेरि त्यहिँ पुग्नका लागि जनतातिर फर्किएको भन्नु किमार्थ पनि विश्वास योग्य देखिँदैन प्रचण्डका हकमा।
सच्चा राजनीति जनताको आवश्यकता र आकांक्षालाई केन्द्रमा राखेर सञ्चालन हुनुपर्छ। जनताका समस्या सुन्ने, तिनको समाधान खोज्ने, र सार्वजनिक स्रोतको न्यायपूर्ण वितरण गर्ने कार्य राजनीतिज्ञहरूको प्रमुख दायित्व हो। राजनीतिमा सहभागिता जनसेवाको भावना लिएर हुनुपर्छ, न कि व्यक्तिगत स्वार्थ, सत्तालिप्सा वा भ्रष्ट आचरणका लागि। प्रचण्डका मुखमा यी विषय नहुने होइन तर मनमा कहिले पनि पलाएन। कतिपय सहयात्रीलाई पाखा लगाएर सत्ताका निम्ति सम्झौताको यात्रामा हिँडिरहेको नजिकको बिगत सबैले देखेका छन्।
राजनीति नैतिक हुन जरुरी छ, जसमा सत्य, इमानदारी, सहिष्णुता र पारदर्शिता निहित हुन्छन्। राजनीतिज्ञहरू जनता प्रति जवाफदेही हुनुपर्छ, र कुनै पनि निर्णयमा सार्वजनिक हितलाई प्राथमिकता दिनुपर्छ। जनताको विश्वास जित्न सत्य बोल्ने, काम गर्ने र निर्णय प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गर्ने राजनीति चाहिन्छ।
प्रचण्डको राजनीति सबैको सहभागीतामूलक छैन। अहिले सडकमा उठिरहेको राजसंस्थावादीको आवाजलाई निमोठ्नका लागि बाहिर भाषणमा र सत्ताको प्रयोगका लागि छद्म आग्रह राखिएको तथ्य नै हो। त्यसो नगरी बरु, बाबुरामले पुनरावलोकनको आवश्यक ठानेजसरी उभिनु उचित हुन आउला। समावेशी र सहमतिमूलक राजनीति हुनाले सबै वर्ग, जात, लिङ्ग, भाषा, र क्षेत्रका नागरिकले आफूलाई प्रतिनिधित्व भएको महसुस गर्छन्। यस्तो राजनीति मात्र दीगो विकास र राष्ट्रिय एकताको आधार बन्छ। प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ, प्रतिशोध होइन; आलोचना स्वीकार गर्ने र सुधार गर्ने संस्कार राजनीति भित्र बस्नुपर्छ। समावेशी र सहमतिमूलक विषयमा माओवादीको आचरण देखाउन खोजे पनि आलोचना स्वीकार गर्ने र सुधारको मार्गमा प्रचण्डको नैतिक उडान पाइन्न। सुरक्षा निकायका मानिस, हतियारधारी घेराभित्र रहेर जनतातिर फर्किएको भनी दुश्प्रचार एकातिर र अर्कातिर सत्ताका लागि नै विदेशीसँगको हारगुहार पनि अपाच्य जस्तै देखिन्छ। यसमा सुधार आवश्यक छ, प्रचण्डले स्वीकार गर्नुपर्छ। यो राजनीतिमा शिखण्डि अवतार मानिन्छ, प्रचण्ड सच्चिउन्।