शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बहसमा बजेट : आकार बढ्दै, पुँजीगत खर्च घट्दै

कुन अर्थमन्त्रीको पालामा बजेटको आकार कत्रो ? (हेर्नुहोस सुचीसहित)

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । सरकारले आज बिहिबार आर्थिक २०८२/०८३ को लागि बजेट घोषणा गर्दै छ । सरकारका तर्फबाट अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आगामी आर्थिक बर्षको लागि आज अपरान्ह बजेट घोषणा गर्दे छन् । यो समाचार तयार पार्दासम्म पनि सरकार यतिखेर बजेटमा अन्तिम तयारीमा जुटेको छ । बजेटको आधारमा तलमाथि नभएमा संभवत सरकारले आगामी आर्थिक बर्षको लागि झण्डै १९ खर्ब भित्र सिमित रहने गरी बजेट निर्माण गर्ने छ।

चालु आर्थिक बर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैंयाँको बजेट ल्याएको थियो । यसअघि अर्थात गत आर्थिक बर्षको लागि भने सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैंयाँको बजेट ल्याएको थियो । सरकारले पछिल्लो १० बर्षमा ल्याएको बजेटको तुलनात्मक अध्ययन गर्दा पछिल्लो १० बर्ष अर्थात २०७० देखि २०८२ सम्म सात जना फरक–फरक अर्थमन्त्रीले बजेट सार्वजनिक गरे । तर जुन अर्थमन्त्रीको पालाको जत्रो आकारको बजेट आएपनि प्रत्येक बर्ष बजेटको आकार बढ्दै गएपनि पुँजीगत खर्च भने कमजोर बन्दै गयो । बजेटमा राजश्वको योगदान जुनरुपमा हुनुपर्ने थियो, त्योरुपमा भएन । बजेटको प्रमुख श्रोतको रुपमा राजश्व बाहेक बैदेशिक अनुदान, बैदेशिक ऋण र आन्तरिक ऋण नैं रह्यो । जसले गर्दा मुद्रा स्फिर्ती बढ्दै गयो । सरकारले मितव्ययी भन्दा पनि ठुलो आकारको बजेट बनाउँदा बजेटले लक्ष्य भेट्टाउन सकेन । यसले गर्दा मुल्य बृद्धि भयो।

पछिल्लो १० बर्षको बजेटलाई फर्केर हेर्दा आव २०८१/०८२ मा अर्थमन्त्री बर्षामान पुन अनन्तले १८ खर्ब ६० अर्ब ३० करोड रुपैंयाँ बराबरको बजेट ल्याएका थिए भने त्यससअघि अर्थात आव २०८०/०८१ मा अर्थमन्त्री डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैंयाँ बराबरको बजेट ल्याएका थिए । आ.व २०७९/०८० मा अर्थमन्त्री जर्नादन शर्मा (प्रभाकर) रहेका थिए । उनले उक्त बर्ष अर्थात चालु आवको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैंयाँको बजेट घोषणा गरेका थिए । जसमा चालु खर्च ४० प्रतिशत अर्थात सात खर्ब ५३ अर्ब ४० करोड र पुँजीगत खर्च २१ दशमलव दुई प्रतिशत अर्थात तीन खर्ब ८० अर्ब ३१ करोड रुपैंयाँ तोकिएको थियो । यसैगरी वित्तीय व्यवस्थातर्फ १२ दशमलव आठ प्रतिशत अर्थात दुई खर्ब ३० अर्ब २२ करोड र वित्तीय हस्तान्तरण तर्फ २४ प्रतिशत अर्थात चार खर्ब २९ अर्ब ८३ करोड रुपैंयाँ छुट्याईएको थियो । बजेटको श्रोतप्राप्तीतर्फ भने राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, बैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड, बैदेशिक ऋणबाट दुई खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋणबाट दुई खर्ब ५६ अर्ब रुपैंयाँ उठाउने बजेटको लक्ष्य तोकियो । आ.व २०७८/०७९ मा भने अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बजेट घोषणा गरेका थिए । उनले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैंयाँमा सिमित रहने गरी बजेट घोषणा गरेका थिए । जसमा चालु खर्च ४१ दशमलव दुई प्रतिशत अर्थात छ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगत खर्च २२ दशमलव सात प्रतिशत अर्थात तीन खर्ब ७४ अर्ब २६ करोड रुपैंयाँ छुट्याईयो । बाँकी रकम भने वित्तीय व्यवस्था र वित्तीय हस्तान्तरणको लागि छुट्याईयो । उक्त बजेटको श्रोतकोरुपमा राजश्वतर्फ १० खर्ब २४ अर्ब ९० करोड, बैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड, बैदेशिक ऋणबाट तीन खर्ब नौं अर्ब २९ करोड र आन्तरिक ऋणबाट दुई खर्ब ५० अर्ब उठाउने लक्ष्य लिईएको थियो।

आ.व २०७७–०७८ मा अर्थमन्त्रीकोरुपमा डा. युवराज खतिवडा रहेका थिए । उनले उक्त आवको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाँ बराबरको बजेट घोषणा गरेका थिए । जसमा ६४ दशमलव चार प्रतिशत अर्थात नौं खर्ब ४८ अर्ब ९४ करोड रुपैंयाँ चालु खर्च, २३ दशमलव नौं प्रतिशत अर्थात तीन खर्ब ५२ अर्ब ९१ करोड रुपैंयाँ बराबरको पुँजीगत खर्च तोकियो भने बाँकी वित्तीय व्यवस्था र वित्तीय हस्तान्तरणको लागि बजेट तोकियो । उक्त बजेटको श्रोत प्राप्ती अन्र्तगत भने राजश्वबाट आठ खर्ब ८९ अर्ब ६२ करोड, बैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब ५० करोड र आन्तरिक ऋणबाट दुई खर्ब २५ अर्ब रुपैंयाँको श्रोत प्राप्ती गर्ने लक्ष्य लिईयो । आ.व २०७६/०७७ पनि अर्थमन्त्रीकोरुपमा डा. युवराज खतिवडा नैं रहेका थिए । उनले त्यो आवको लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैंयाँ बराबरको बजेट घोषणा गरेका थिए । जसमा चालु खर्च तर्फ ६२ दशमलव चार प्रतिशत अर्थात नौं खर्ब ५७ अर्ब १० करोड १४ लाख, पुँजीगत खर्च तर्फ २६ दशमलव छ प्रतिशत अर्थात चार खर्ब आठ अर्ब ५९ लाख लाख र बाँकी वित्तीय व्यवस्था र वित्तीय हस्तान्तरणको लागि बजेट छुट्याईएको थियो थियो । उक्त समय बजेटको श्रोतप्राप्तीको लागि राजश्वबाट नौं खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, बैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख, बैदेशिक ऋणबाट दुई खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख र आन्तरिक ऋणबाट एक खर्ब ९५ अर्ब रुपैंयाँ उठाउने लक्ष्य बजेटले लिएको थियो।

आ.व २०७५/०७६ मा पनि अर्थमन्त्रीकोरुपमा डा. युवराज खतिवडाले नैं बजेट सार्वजनिक गरेका थिए । उनले त्यो बर्षको लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैंयाँको बजेट सार्वजनिक गरेका थिए । जसमा चालुतर्फ ६४ दशमलव तीन प्रतिशत अर्थात आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पुँजीगततर्फ २३ दशमलव नौं प्रतिशत अर्थात तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र बाँकी भने वित्तीय व्यवस्था र वित्तीय हस्तान्तरणको लागि रहेको थियो । उक्त बजेटको श्रोतप्राप्ती अन्र्तगत राजश्वबाट आठ खर्ब ३१ अर्ब ७१ करोड ६० लाख र बाँकी मध्ये बैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख, बैदेशिक ऋणबाट दुई खर्ब ५३ अर्ब दुई करोड ८२ लाख र आन्तरिक ऋणबाट एक खर्ब ७२ अर्ब रुपैंयाँ उठाउने लक्ष्य लिईएको थियो । आ.व २०७४/०७५ मा भने अर्थमन्त्रीकोरुपमा कृष्ण बहादुर महराले बजेट सार्वजनिक गरेका थिए । उनले उक्त बर्षको लागि १२ खर्ब ७८ अर्ब ४४ लाख ५५ हजार रुपैंयाँको सिमामा रहेर बजेट ल्याएका थिए । जसबाट चालुतर्फ ६२ दशमलव आठ प्रतिशत अर्थात आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार र पुँजीगततर्फ २६ दशमलव दुई प्रतिशत अर्थात तीन खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार रुपैंयाँ छुट्याईएको थियो । बाँकी भने वित्तीय व्यवस्था र वित्तीय हस्तान्तरणकोरुपमा रहेको थियो । उक्त बजेटको श्रोत प्राप्तीकोरुपमा भने राजश्बाट साता खर्ब ३० अर्ब ५५ करोड ५५ लाख ५० हजार, बैदेशिक अनुदानबाट ७२ अर्ब १६ करोड ७६ लाख २८ हजार, बैदेशिक ऋणबाट दुई खर्ब १४ अर्ब तीन करोड ५४ लाख २९ हजार र आन्तरिक ऋणबाट एक खर्ब ४५ अर्ब रुपैंयाँ उठाउने लक्ष्य तोकिएको थियो।

आ.व २०७३/०७४ को लागि भने अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले बजेट ल्याएका थिए । उनले उक्त बर्षको लागि कुल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैंयाँको सिमामा रहेर बजेट ल्याएका थिए । जसमा चालुतर्फ ५८ दशमलव नौं प्रतिशत अर्थात छ खर्ब १७ अर्ब १६ करोड ४४ लाख २९ हजार र पुँजीगत तर्फ २९ दशमलव सात प्रतिशत अर्थात तीन खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार रुपैंयाँ बजेट बिनियोजन गरिएको थियो । बाँकी बजेट भने वित्तीय व्यवस्था र वित्तीय हस्तान्तरणको लागि बिनियोजन गरिएको थियो । उक्त बजेटको श्रोत प्राप्तीको रुपमा राजश्वबाट पाँच खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख उठाउने लक्ष्य लिएको थियो भने बाँकी बैदेशिक अनुदान, बैदेशिक ऋण र आन्तरिक ऋणबाट उठाउने लक्ष्य लिईएको थियो।

यसैगरी आ.व २०७२–०७३ को लागि भने अर्थमन्त्री डा. रामशरण महतले बजेट ल्याएका थिए । उनले उक्त बर्षको लागि आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार रुपैंयाँको सिमामा रहेर बजेट ल्याएका थिए । जसमा चालुतर्फ ५९ दशमलव एक प्रतिशत अर्थात चार खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार पुँजीगत तर्फ २५ दशमलव पाँच प्रतिशत अर्थात दुई खर्ब आठ अर्ब ८७ करोड ७२ लाख ४२ हजार रुपैंयाँ छुट्याईएको थियो । बाँकी भने वित्तीय व्यवस्था र वित्तीय हस्तान्तरणको लागि छुट्याईएको थियो।

उक्त बर्षको बजेटको श्रोत प्राप्तीकोरुपमा भने राजश्वबाट चार खर्ब ७५ अर्ब एक करोड २१ लाख रुपैंयाँ उठाई बाँकी भने बैदेशिक एवं आन्तरिक ऋण र अनुदानबाट प्राप्ती गर्ने लक्ष्य लिईएको थियो । आव २०७१/०७२ को लागि पनि अर्थमन्त्रीकोरुपमा डा. रामशरण महतले नै बजेट ल्याएका थिए । उनले उक्त बर्षको लागि कुल छ खर्ब १८ अर्ब १० करोड रुपैंयाँको बजेट घोषणा गरेका थिए । जसमा चालु तर्फ ६४ दशमलव पाँच प्रतिशत अर्थात तीन खर्ब ९८ अर्ब ९५ करोड ११ लाख ९५ हजार र पुँजीगत तर्फ १८ दशमलव नौं प्रतिशत अर्थात एक खर्ब १६ अर्ब ७५ करोड ५० लाख रुपैंयाँ बराबरको बजेट बिनियोजन गरिएको थियो । बजेटको बाँकी अंश भने वित्तीय व्यवस्था र वित्तीय हस्तान्तरणको लागि छुट्याएको थियो । बजेटको श्रोत प्राप्तीको लागि भने आव २०७१/०७२ मा राजश्वबाट चा खर्ब २२ अर्ब ९० करोड र बाँकी रकम बैदेशिक ऋण, अनुदान र आन्तरिक ऋणबाट उठाउने लक्ष्य लिईएको थियो।

आव २०७०/०७१ को लागि पनि अर्थमन्त्रीकोरुपमा डा. रामशरण महतले नैं बजेट सार्वजनिक गरेका थिए । उक्त बर्षको लागि कुल पाँच खर्ब १७ अर्ब २४ करोड रुपैंयाँ बराबरको बजेट ल्याईएको थियो । उक्त बजेटमा चालु तर्फ ६८ दशमलव ३३ प्रतिशत अर्थात तीन खर्ब ५३ अर्ब ४१ करोड ७४ लाख ७६ हजार र पुँजीगत तर्फ १६ दशमलव ४५ प्रतिशत अर्थात ८५ अर्ब नौं करोड ९७ लाख ३१ हजार रुपैंयाँ छुट्याईएको थियो । बाँकी भने वित्तीय व्यवस्था र वित्तीय हस्तान्तरणको लागि बजेट बिनियोजन गरिएको छ । यसरी सरसर्तीरुपमा प्रत्येक बर्ष बजेटको आकार बढ्दै गएपनि बजेटको ठुलो हिस्सा सरकारको दैनिक कामकाज अर्थात कर्मचारी भरणपोषणमा नैं सकिएको छ । जसले पुँजीगत खर्च कमजोर हुनगई बिकास निर्माणका कामहरु सुस्त भएका छन्।