काठमाडौं । आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टस जितेको छ। बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपाली कप्तान इन्दु बर्माले टस जितेकी हुन्।
थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर-३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा टस जितेर सुरुमा बलिङ गर्ने निर्णय गरेको हो। खेल भर्खरै सुरु भएको छ ।
दुई खेल खेल्न बाँकी नेपालको पाँच र युएईको ६ अंक छ। युएईमाथि जित हासिल गरे नेपाल पनि ग्लोबलमा पुग्नेछ। पराजित भए प्रतियोगिताबाट बाहिरिने छ।
थाइल्यान्ड समूह ‘ए’ मा शीर्ष स्थानमा रहँदै ‘सुपर थ्री’मा प्रवेश गरेको हो। युएई समूह ‘बी’ र नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा रहेका थिए।
समूह चरणमा हासिल गरेको अंक नै ‘सुपर थ्री’ मा जोडिने प्रावधान छ। सोही अनुसार नेपालले पाँच अंकसहित ‘सुपर थ्री’को अंक तालिकामा पुछारमा रहेको थियो।