काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भएको छ । सरकारले गभर्नर नियुक्तिमा ढिलाइ भएको अपजस खेपिरहँदा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने त्यसको कारण राष्ट्र बैंक नै रहेको बताएका छन् ।
यसअघि सरकारले स्वार्थपूर्तिका लागि गभर्नर नियुक्तिमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको थियो । संसद्मा पनि गभर्नर नियुक्तिको विषयमा विभिन्न कोणबाट छलफल भइसकेको छ । गभर्नर बन्ने दौडमा रहेका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ र गुणाकर भट्टले राजीनामा दिइसके पनि ती राजीनामा हालसम्म स्वीकृत हुनसकेका छैनन् ।
कार्यवाहक गभर्नर नीलम ढुंगाना तिम्सिनाले उनीहरूको राजीनामा स्वीकृत नगरेपछि प्रक्रिया थप लम्बिएको छ ।
गभर्नर नियुक्तिकै विषयलाई लिएर कांग्रेस महामन्त्री गगन थापाले विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म रहन्छ भनेर टिप्पणी गरेका थिए । गभर्नर बिचौलियाले बनाउने चिन्ता रहेको उनको भनाइ थियो ।
राजधानीको एक कार्यक्रममा सम्बोधनका क्रममा उनले भनेका थिए– ‘अहिले गभर्नर नियुक्तिको चर्चा चलेको छ। भोलि पर्सि नै नियुक्त पनि होला। तर, राजनितीक दलका नेताले भन्दा बिचौलियाले प्रभाव पार्लान् कि भन्ने चिन्ता छ। पहिलेपहिले फलानो पार्टीले राम्रो क्याडेड ल्यायो भन्ने हुन्थ्यो,’ उनले भने, ‘अहिले निश्चित घराना र प्रभावमा हुने चिन्ता छ । हामी ट्रान्सपरेन्ट नहुनुको नतिजा हो।’
यसैबीच काँग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पारेका छन् ।
मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
राष्ट्र बैंकभित्रकै समस्याको कारण गभर्नर नियुक्तिमा ढिलाई भएको उनको भनाइ छ । उनले प्रधानमन्त्री ओली गभर्नर काँग्रेसलाई दिने पक्षमा रहेको समेत बताउका थिए । उनले सत्ता गठबन्धमा समेत कुनै समस्या नभएको दाबी गरे । उनले भने, ‘कुनैपनि पार्टीको बहुमत आउन गाह्रो छ । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ तर बहुमत छैन । त्यसकारण कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने जरुरी छ । अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धमा कुनैपनि समस्या क्रिएट गर्नुभएको नि छैन । गठबन्धनमा कुनै समस्या छैन । राष्ट्र बैंकको गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या चाहीँ होइन । राष्ट्र बैंकभित्रै आएको समस्या हो । उहाँ गभर्नर काँग्रेसलाई दिने पक्षमै हुनुहुन्छ । उहाँले त्यसमा गाह्रो गर्नुभएको छैन । सहयोग नै गर्नुभएको छ ।’
गभर्नरमा आफूले अगाडि सारेका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई सर्वोच्च अदालतले बाटो खुलाउँदासमेत नियुक्तिमा ढिलाइ भएकाे भन्दै सभापति देउवाले असन्तुष्टि जनाउँदै आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सेटिङमा रबर स्ट्याम्प व्यक्तिलाई गभर्नर नियुक्त गर्न लागेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै डा. वाग्लेले माथि सेटिङ गरेर रबर स्ट्याम्प गभर्नर नियुक्ति हुने आरोप लगाएका हुन् ।
‘दुई महिनादेखि सानो एउटा राष्ट्र बैंकको गभर्नर पदको नियुक्ति अल्झिराखेको छ । माथि सेटिङ गरेर अनि समिति (सिफारिस समिति) बसाएर एउटा रबर स्ट्याम्पको नियुक्ति हुने होला, त्यसमा पनि गिजोलिराख्या छ ।’ उनले भने ।
राष्ट्र बैंक ऐनअनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा कम्तीमा एक महिनाअगावै नयाँ गभर्नरको नियुक्ति हुनुपर्छ । तर, सरकारको स्वार्थ नमिल्दा यो प्रावधान पालना हुनसकेको छैन ।
राष्ट्र बैंक ऐन २०५८ अनुसार, गभर्नरले अवकाश लिनु एक महिनाअगावै गभर्नर सिफारिश समितिले सिफारिश गरेका तीनजना व्यक्तिमध्येबाट एकजना गभर्नर नियुक्ति गरिसक्नुपर्ने व्यवस्था छ । ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नेछ’, ऐनमा उल्लेख छ । तर, सरकारले गभर्नर हालसम्म नियुक्त गर्न सकेको छैन ।
मन्त्रिपरिषद्ले चैत ११ मा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य छन् । समिति गठन भए पनि उच्च राजनीतिक तहमा सहमति भएअनुसार नै नयाँ गभर्नर नियुक्ति हुनेछन् ।