काठमाडौं । बैंकिङ क्षेत्रमा खराब अर्थात निष्क्रिय कर्जाको ग्राफ निरन्तर उकालो लाग्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थामा अधिकत पाँच प्रतिशत भन्दा बढी खराब कर्जा हुन नहुने व्यवस्था लागु गरेको भएपनि पछिल्लो समय बिकास बैंक र फाईनान्स कम्पनीहरुमा रहेको खराब कर्जाको ग्राफ पाँच प्रतिशत भन्दा निकै नैं माथि रहेको छ ।
अझ फाईनान्स कम्पनीको मात्र कुरा गर्दा यि कम्पनीहरुमा खराब कर्जाको मात्र राष्ट्र बैंकले तोकेको अधिकतम सिमा भन्दा दोब्बर भन्दा बढी रहेको छ । स्मरण रहोस, राष्ट्र बैंकले तोकेको अधिकतम सिमा भन्दा बढी कर्जा खराब भएमा राष्ट्र बैंकले सुधारात्मक कारवाही गर्न सक्ने व्यवस्था रहेको छ । यसअन्र्तगत राष्ट्र बैंकले निक्षेप तथा कर्जा प्रवाहमा तत्कालको लागि न्युनतम सिमा तोकिदिने, नयाँ कर्मचारी भर्ना, नयाँ शाखा खोल्नमा रोक लगाउने, कर्मचारीहरुको सेवा सुविधाको बृद्धिमा तत्कालको लागि रोक लगाउने लगायतका कारवाहीको व्यवस्था रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो आठ महिना अर्थात फागुन मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा संस्थाहरुमा औषतमा चार दशमलव ९२ प्रतिशत कर्जा खराब देखिएको छ । यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुले ६७ खर्ब ६९ अर्ब २७ करोड २० लाख रुपैंयाँ निक्षेप संकलन गरी ५४ खर्ब ५५ अर्ब ९७ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा उक्त परिमाणको कर्जा खराब देखिएको हो । गत आवको सोही अवधिमा भने बैंक तथा फाईनान्स कम्पनीहरुले ६१ खर्ब ८७ अर्ब ६४ करोड ६० लाख रुपैंयाँ निक्षेप संकलन गरी ५० खर्ब ८४ अर्ब ९३ करोड ३० लाख रुपैंैयाँ कर्जा प्रवाह गर्दा औषतमा तीन दशमलव ७३ प्रतिशत कर्जा खराब देखिएको थियो ।
चालु आवको फागुन मसान्तसम्ममा बाँणिज्य बैंकहरुले मात्र ६० खर्ब ४१ अर्ब २१ करोड ५० लाख रुपैंयाँ निक्षेप संकलन गरी ४८ खर्ब ४० अर्ब छ करोड रुपैैंयाँ कर्जा प्रवाह गर्दा औषतमा चार दशमलव ७३ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुले ५४ खर्ब ७१ अर्ब ८४ करोड ६० लाख रुपैंयाँ निक्षेप संकलन गरी ४४ खर्ब ९२ अर्ब ८४ करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा तीन दशमलव ६३ प्रतिशत कर्जा खराब देखिएको थियो ।
बिकास बैंकहरुले भने चालु आवको फागुन मसान्तसम्ममा छ खर्ब दुई अर्ब पाँच करोड २० लाख रुपैंयाँ निक्षेप संकलन गरी पाँच खर्ब १४ अर्ब २६ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा पाँच दशमलव ११ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने बिकास बैंकहरुले पाँच खर्ब ९३ अर्ब ५८ करोड १० लाख रुपैंयाँ निक्षेप संकलन गरी चार खर्ब ९६ अर्ब पाँच करोड ६० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा तीन दशमलव ६१ प्रतिशत कर्जा खराब देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको फागुन मसान्तसम्ममा फाईनान्स कम्पनीहरुले भने एक खर्ब २६ अर्ब ५० लाख रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ६४ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा १२ दशमलव ८५ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने फाईनान्स कम्पनीहरुले एक खर्ब २२ अर्ब २१ करोड ९० लाख रुपैंयाँ निक्षेप संकलन गरी ९६ अर्ब तीन करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा नौं दशमलव १८ प्रतिशत कर्जा खराब देखिएको थियो ।