शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चारदेशिय टी-२० सिरिज : उपाधिका आज नेपालले कुवेतसँग खेल्दै

आइतबार, चैत्र ३१ २०८१

काठमाडौं। नेपालले चारदेशिय टी–२० सिरिजको उपाधिका लागि आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

हङ्कङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै छन् । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आजको खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुने छ ।

शनिबार भएको घरेलु टोली हङ्कङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो । शनिबार टस हारेर हङ्कङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकियो । हङ्कङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक–एक अङ्क बाँडेका थिए । जारी प्रतियोगितामा पाँच अङ्क बटुलेको नेपाल तालिकाको शीर्षस्थान कायम गर्दै फाइनलमा सुरक्षित स्थान बनाएको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई आठ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई छ विकेटले हराएको थियो । उता कुवेतले शनिबार बिहान भएको खेलमा कतारलाई छ विकेटले हराउँदै चार अङ्कसहित फाइनलमा पुगेको थियो ।

नेपाल र कुवेत यसअघि दुईपल्ट भिडेका छन्। ती दुवै खेलमा नेपाल अपराजित छ। सन् २०१९ मा आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रीय फाइनलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको थियो।

यसै वर्ष हुने आईसीसी टी-२० विश्वकप छनोटको तयारीका रूपमा नेपालले विभिन्न अभ्यास खेलहरू खेल्ने तय भएका छन् । यस प्रतियोगिता पनि त्यही तयारीको सुरुवाती हो ।