काठमाडौं । फागुन ११ गतेबाट सुरु हुने ‘केपी ओली कप फुटबल प्रतियोगिता’को दोस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको खेलको तालिका बुधबार सार्वजनिक भएको हो । नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा दुई विदेशीसहित नौ टोलीको सहभागिता रहनेछ । ११ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आहा रारा पोखरा गोल्डकप विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबीच हुनेछ । त्यो खेलको विजेताले क्वाटरफाइनलमा संकटा क्लबको सामना गर्नेछ ।
फागुन १२ र १३ गते समान दुई खेल हुनेछन् । फागुन १२ गते त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसै दिन आयोजक टोली केपी ओली एफसी र एनआरटीबीच खेल हुनेछ ।
फागुन १३ गते संकटा र उद्घाटन खेलको विजेता तथा मच्छिन्द्र फुटबल क्लब र भुटानको एफसी ट्रान्सफर युनाइटेडबीच खेल हुनेछ । सेमिफाइनल फागुन १६ र १७ गते तथा फाइनल १९ गते हुनेछ ।
सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा अन्य खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । यस्तै, प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् । मच्छिन्द्रले यसअघि भएको संस्करणको उपाधि जितेको थियो ।