प्रतिकुल अवस्थामा पनि खुद मुनाफा सन्तोषजनक
काठमाडौंं । बिकास बैंकहरुको वित्तीय अवस्था सवल देखिएको छ । बिकास बैंकहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा छ खर्ब पाँच अर्ब ७९ करोड ४० लाख रुपैंयाँ निक्षेप संकलन गरी पाँच खर्ब १० अर्ब ५१ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।
यस अवधिमा बिकास बैंकहरुमा चार दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा बिकास बैंकहरुले पाँच खर्ब ७७ अर्ब ४६ करोड ५० लाख रुपैंयाँ निक्षेप संकलन गरी चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा तीन दशमलव १९ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको छ । यि दुई आर्थिक बर्षको तुलनात्मक अध्ययन गर्दा अघिल्लो गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको दोस्रो त्रैमासमा अर्थतन्त्र निकै असहज अवस्थामा रहेको थियो । यो अवस्थामा बिकास बैंकहरुमा निक्षेप बढेपनि कर्जा बढ्न सकेको थिएन भने बिगतमा प्रवाह गरेको कर्जाबाट पनि नियमितरुपमा सावाँव्याज असुल गर्न हुन सकेको थिएन । किनकी यो बर्ष अर्थतन्त्र कमजोर अवस्थामा रहेको थियो । तर अर्थतन्त्रको यही अवस्थाको बावजुत पनि बिकास बैंकहरुले सन्तोषजनकरुपमा नाफा कमाएका छन् ।
सञ्चालनमा रहेका १७ वटा बिकास बैंकहरु मध्येमा हालसम्म १४ वटाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा ११ वटाले नाफा कमाएर तीन वटा मात्र घाटामा जानुले पनि बिकास बैंकहरुको नाफा सन्तोषजनक देखिएको हो । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको मध्ये सिन्धु बिकास बैंकले चालु आवको दोस्रो त्रैमासमा चार करोड ८७ लाख चार हजार रुपैंयाँ नाफा कमाएको छ भने नारायणी डेभलपमेन्ट बैंकले यस अवधिमा ६२ लाख १३ हजार रुपैंयाँ घाटा बेहोरेको छ ।
राष्ट्रियस्तरमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको लुम्विनी, कामना सेवा, ज्योति, मुक्तिनाथ र शाईन रेसुंगा डेभलपमेन्ट बैंकले भने चालु आवको दोसो त्रैमासमा क्रमशः १४ करोड ७६ लाख १८ हजार, ३२ करोड २४ लाख ९३ हजार, ५० करोड ३१ लाख २२ हजार र ३३ करोड आठ लाख ५६ हजार रुपैंयाँ नाफा कमाएका छन् । यस अवधिमाा राष्ट्रियस्तरकै महालक्ष्मी, साँग्रिला र गरिमा बिकास बैंकले पनि क्रमशः २८ करोड ७४ लाख ९९ हजार, १९ करोड ६५ लाख ६१ हजार र ५४ करोड ९९ लाख ६२ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।
क्षेत्रियस्तरमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको कर्पोरेट र मितेरी डेभलपमेन्ट बैंकले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः एक करोड सात लाख ३९ हजार र दुई करोड ५८ लाख ५१ हजार रुपैंयाँ नाफा कमाएका छन् । यस अवधिमा क्षेत्रियस्तर कै एक्सेल र सप्तकोशी डेभलपमेन्ट बैंकले भने क्रमशः नौं करोड पाँच लाख ३५ हजार र दुई करोड ९९ लाख १७ हजार रुपैंयाँ नोक्सानी बेहोरेका छन् ।