बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से सामान्य अंकले सुधार, आठ अर्ब ७१ करोडको कारोबार

बुधबार, माघ ३० २०८१

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन छ दशमलव ५४ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार एक दशमलव ८६ अंकले बढेर २६ सय ८५ दशमलव ७३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २५ अंकले बढेर चार सय ५० दशमलव ४० अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय सात वटा कम्पनीहरुको ८२ हजार आठ सय ५० पटकको कारोबारमा एक करोड ५५ लाख २० हजार पाँच सय ५९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम आठ अर्ब ७१ करोड ७८ लाख ४७ हजार ६२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेको छ । सो मध्ये बिकास बैंक समुहको सुचक ७७ दशमलव २६ अ्रकले बढेर पाँच हजार आठ सय ४७ दशमलव २० अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ६२ दशमलव ५५ अंकले बढेर १३ हजार ३८ दशमलव ६५ अंकमा पुगेको छ । फाईनान्स र लगानी समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने शुन्य दशमलव ७९ अंकले घटेर १३ सय ४८ दशमलव ३२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव १९ अंकले घटेर १२ हजार नौं सय ७७ दशमलव ७२ अंकमा पुगेको छ । जलबिद्युत, होेटल तथा पर्यन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहहरुको सुचक पनि घटेका छन् ।

गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले आज सबैभन्दा बढी कमाउँदा उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको आज बढी रकम कारोबार भएको छ ।