बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गाजा युद्ध पुनः शुरू गर्ने इजरायलको चेतावनी

बुधबार, माघ ३० २०८१

एजेन्सी ।हमासले बन्धकहरूलाई रिहा नगरे पुनः युद्ध शुरू हुने इजरायलले चेतावनी दिएको छ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले सम्झौतामा उल्लिखित पहिलो चरणको युद्धविरामको ढाँचाअनुसार शनिबारसम्म बन्धकहरू रिहा नगरे पुनः आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

इजरायली सेनाले युद्ध पुनः शुरू गर्न योजनाहरू स्वीकृत गर्ने प्रक्रियामा रहेको बताएको छ । साथै, उसले सैनिकहरूको बिदा रद्द गरेको छ र गाजा आसपासका आरक्षित फौजलाई फेरि बोलाएको छ ।

तर, मध्यस्थकर्ताहरू इजरायल र हमासलाई युद्धविरामको पालनामा दबाब दिन गोप्य रूपमा प्रयास गरिरहेका छन्। बन्धकका परिवारहरू सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्।

उद्यपि नेतान्याहुको अतिवादी दक्षिणपन्थी सरकारका सदस्यहरूले भने युद्ध पुनः शुरू गर्न समर्थन जनाएका छन्, उनीहरूले यो निर्णय पहिल्यै गर्नुपर्ने बताउँदै आएका छन्।

हमासले इजरायललाई सम्झौताका सर्तहरू उल्लंघन गरेको आरोप लगाएको छ। सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण शुरू गरेको थियो ।