बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विपिन छुटाउने पहलका ‘नयाँ सेतु’

मंगलबार, माघ २९ २०८१

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा व्यावसायीक सफलता कमाइरहेका नेपाली युवा रिजवान आलमले हमासको कब्जामा रहेका विपिन जोशी छुटाउने प्रयत्नमा नेपथ्यमा सहयोगी भूमिका निर्वाह गरेका छन्।

दुख पीडामा रहेका नेपालीलाई सहयोग र समन्वय गर्ने उनले अहिले उच्च तहमा पनि समन्वयकारी भूमिकालाई बलियो बनाएका छन्।

गाजा क्षेत्रको युद्धका क्रममा इजरायलमा छिरेर हमास विद्रोहीले पक्राउ गरेका नेपाली २३ बर्षिय युवा विपिन जोशीको रिहाईका लागि सभामुख देवराज घिमिरेले अरब संसदका अध्यक्ष महामहिम महोम्मद अहमद अल यमाहीलाई एक विशेष पत्र लेखेका छन्। उक्त पत्र यमाहीसम्म पुग्ने सेतु हुन्, रिजवान आलम।

यो पहल सफल बनाउन पर्दा पछाडिका व्यवसायी रिजवान आलम जसले योगदान गर्नका लागि कुनै कसर बाँकी राखेनन्। जब नेपाल सरकारले विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय कूटनीतिक मार्गहरू खोज्न थाल्यो, त्यही बेला रिजवान आलमको नाम अगाडि आयो।

रिजवान आलम लामो समयदेखि अरब मुलुकहरूसँग सम्बन्धित छन् र त्यहाँका उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध राख्छन्। नेपालका केही उच्च सरकारी अधिकारीहरूले रिजवान आलमलाई हमाससँग वार्ता गर्न मद्दत गर्न आग्रह गरे।

रिजवान आलमले तत्कालै आफ्नो प्रभाव प्रयोग गर्दै अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल–यमाहीसमक्ष यो मुद्दा उठाए।

रिजवान आलमको प्रत्यक्ष पहलपछि महामहिम अल–यमाहीले नेपाल सरकारलाई सुझाव दिए– यदि नेपाल सरकारले आधिकारिक रूपमा अनुरोध पठायो भने, हमाससँग वार्ता गर्न अझ सरल हुनेछ।

त्यसपछि नै नेपालका सभामुख देवराज घिमिरेले महामहिम अल–यमाहीलाई आधिकारिक पत्र लेखेका थिए। अब सबैको नजर अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल–यमाहीको निर्णयमा छ। यदि उनले चाहे भने विपिन जोशी छिट्टै हमासको कब्जाबाट मुक्त हुन सक्ने सम्भावना बलियो देखिन्छ।

प्रचण्ड सरकारले हमास विद्रोहीको यो कदमलाई आतंकवादी भनेका कारण जोशीको रिहाईमा समस्या आएको थियो। तर, अब रिजवानको मध्यस्ततामा अरब संसद अध्यक्षको पहलले सहजीकरण हुने बुझिन्छ। जहाँ सभामुख घिमिरेले पनि पत्र लेखेका छन्।

विपिन जोशी इजरायलको किबुत्ज अलुमिममा अध्ययनरत थिए। गत वर्ष अक्टोबर महिनामा हमासले इजरायलमा गरेको आक्रमणको क्रममा, विपिनलाई अपहरण गरी गाजामा लगिएको विश्वास गरिएको छ। जोशीको परिवारलाई इजरायली गुप्तचर सेवाले उनको मोबाइल फोन गाजामा फेला परेको जानकारी दिएको थियो।

अपहरणपछि हमासले इजरायलमा रहेका अन्य नेपाली नागरिकहरूमाथि पनि आक्रमण गरेको थियो, जसमा १२ नेपाली विद्यार्थीको हत्या गरिएको थियो। यस घटनापछि, नेपाल सरकारले आफ्ना नागरिकहरूको सुरक्षाका लागि कूटनीतिक प्रयासहरू तीव्र पारेको छ।

नेपालकी विदेशमन्त्री डा. आरजू राणाले विपिन जोशीको रिहाइका लागि विभिन्न देशहरूसँग समन्वय गरिरहेकी छिन्। यसै सन्दर्भमा, उनले इरानका विदेशमन्त्री सैयद अब्बास आरागचीसँग टेलिफोनमार्फत कुरा गर्दै विपिनको रिहाइका लागि सहयोगको आग्रह गरेकी थिइन्।

इरानी विदेशमन्त्रीले हमासका नेताहरूसँगको आगामी वार्तामा यस विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिएका थिए। यसअघि, राणाले नोभेम्बर र डिसेम्बर महिनामा इजरायल, मिश्र र कतारका विदेशमन्त्रीहरूसँग पनि टेलिफोन संवाद गरी विपिनको रिहाइका लागि आग्रह गरेकी थिइन्। हालसम्म, हमासले केही बन्धकहरूलाई रिहा गरे पनि, विपिन जोशीको रिहाइ हुन सकेको छैन।

समग्र पहलहरुले काम नगरिरहेका बेला रिजवान आलमको पहल र अरब संसद अध्यक्षको अग्रसरताले हमास बिद्रोहीले नेपाली युवालाई रिहा गर्न सक्ने सम्भावना धेरै बढेको छ।

‘हाम्रा देशका युवा यसरी बन्धक बनिनु र शान्ति वार्तामा बन्दी रिहाई भैरहेका बेला जोशीलाई किन रिहाई भएन? यस सन्दर्भमा केही पहल गरेको छु’, रिजवान भन्छन्,‘यो पहलले सकारात्मक र खुशीको सन्देश दिने अपेक्षा छ।’