काठमाडौं । एमालेको सदस्यता सक्रिय बनाएदेखि नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चर्चा बलियो बनेको छ। आगामी महाधिवेशन आउनुपूर्व नै उनको राजनीतिक सक्रियता पनि बलियो हुन थालेको छ।
यसैसाता उनी मोरङ र सुनसरीमा सक्रिय भइन्। निक्कै नेता कार्यकर्तासँग भेट गरेकी छन्। उनको यो भेट र सक्रियता अर्थपूर्ण रहेको बताइन्छ।
भण्डारीले एक हप्ता लामो भ्रमण सकेर आइतबार काठमाडौँ फर्किएकी छन्। उनले यो साता कार्यकर्ता र स्थानीय नेताबीच परामर्शमा बिताएकी थिइन्।
यो उनको राजनीतिक मुभका रुपमा बुझिएको छ। यसबिचमा उनले ८ वटा औपचारिक कार्यक्रममा सहभागी भइन्। जहाँ औपचारिक कार्यक्रम गरिन् त्यहाँ पनि समूहगत, व्यक्तिगत ढङ्गले अनौपचारिक भेटघाटहरू मनग्ये गरिन्। मुख्य गरी विराटनगरको होटल बिगमा बसेर उनले सयौँ एमालेका नेता तथा कार्यकर्ताहरूसँग भेट गरिन्।
शनिबार मात्रै उनले तीन दर्जनबढी समूहका एक सयभन्दा बढी नेता, कार्यकर्तासँग भेट गरिन्।
भेटघाट गर्नेहरूमा अधिकांश एमालेका नेता कार्यकर्ता छन् भने कतिपय काँग्रेस र नेकपा एसका नेता, कार्यकर्ताले पनि भेट गरेका छन्।
१४ गते विराटनगर पुगेकी उनले त्यही दिन महिला कार्यकर्तासँग भेटघाट गरिन्, त्यसपछि पत्रकार सम्मेलनमा सहभागी भएर उनले विद्यार्थीसँग पनि छलफल गरिन् र नेता, कार्यकर्तासँग भेटघाट गरिन्।
१५ गते इटहरीको जनता माविको औपचारिक कार्यक्रममा समावेश भएकी उनले त्यहीँ रहँदा सुनसरीका एमाले नेता, कार्यकर्तासँग छलफल भयो। १६ गते भण्डारी मोरङ बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा आयोजित कार्यक्रम र एक निजी स्कुलको औपचारिक कार्यक्रममा सहभागी भइन्।
१७ गते उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी भएकी उनी १८ गते मोरङको ग्रामथानमा रहेको एक विद्यालय र धरानको इन्जिनियरिङ क्याम्पसको कार्यक्रममा सहभागी भइन्। १९ गते सुनसरीको इटहरीमा रहेको एनटिभी इटहरी च्यानलको कार्यक्रममा सहभागी भएकी उनले सोही दिन विराटनगरमा सञ्चालित विराट एक्स्पोको अवलोकन गरिन्।
औपचारिक कार्यक्रमबाहेक उनले प्राध्यापक, बुद्धिजीवी, मदन भण्डारी फाउन्डेसनको टिम, काँग्रेस नेता ज्ञानेन्द्र कार्की, भीम पराजुलीसम्मले नै भेटघाट गरे।
घटनाक्रमहरू र उनको सक्रियता हेर्दा भण्डारी सक्रिय राजनीतिमा आउने आधारहरू प्रस्ट हुँदै गएको छ। पहिलो आधार पार्टीको सङ्गठित सदस्यता नवीकरण गर्नु हो। दोस्रो आधार पटकपटक प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गर्नु र तेस्रो आधार सातवटै प्रदेशको भ्रमण गर्ने कार्यतालिका बनाउनु हो।
ओलीसँगको भेटपछि भण्डारी उनीसँगको सल्लाहमै देशदौडाहा निस्किएको हुनसक्ने या एकल बुँतामै निस्किएको हुनसक्ने कतिपय विश्लेषण गर्छन्।