शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बुमराह च्याम्पियन्स ट्रफीबाट बाहिरिन सक्ने

बुधबार, माघ २३ २०८१

नयाँदिल्ली । भारतीय फास्ट बलर जसप्रित बुमराह फेब्रुअरी १९ देखि सुरु हुने च्याम्पियन्स ट्रफीबाट बाहिरिन सक्ने सम्भावना देखिएको छ । बुमराहलाई च्याम्पियन्स ट्रफीसम्म आफ्नो ढाडको चोटबाट निको हुन समस्या हुने दैनिक भास्करले जनाएको छ । अष्ट्रेलिया भ्रमणको अन्तिम टेष्टमा उहाँको ढाड दुखेको थियो । त्यसपछि उनी मैदान फर्किएका छैनन् ।

बिसिसिआई स्रोतलाई उद्धृत गर्दै दैनिक भास्करलाई लेखेको समाचारमा उनले इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजको एक खेल पनि खेल्न नपाउने उल्लेख छ । तर, बुमराहलाई इंग्ल्याण्डविरुद्धको अन्तिम एकदिवसीय खेलका लागि टोलीमा राखिएको छ । यो खेल १२ फेब्रुअरी अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

बुमराह आफ्नो ढाडको चोट जाँच गर्न सोमबार बैंग्लोर पुगेका छन् । उनी बिसिसिआईको सेन्टर अफ एक्सलेन्समा २-३ दिनसम्म मेडिकल टोलीको निगरानीमा ।रहेका छन् । बुमराहको फिटनेसमा काम भइरहेको भन्दै समयमै फिट भए टोलीमा रहने मेडिकल टोलीले जनाएको छ । आइसिसीले टोली परिवर्तनका लागि फेब्रुअरी ११ सम्मको समय तोकेको छ । च्याम्पियन्स ट्रफीमा भारतको पहिलो खेल २० फेब्रुअरीमा बंगलादेशसँग हुनेछ ।

भारतको छनोट समितिले १८ जनवरीमा च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा गरेको थियो । बुमराह पनि टोलीमा परेका थिए । बुमराह सन् २०२३ को एसिया कपमा चोटबाट फर्केका थिए । एजेन्सी ।