काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले युरोपियन फुटबलमा डेब्यु गरेकी छिन् । ग्रिसको शीर्ष डिभिजन महिला लिगमा उनले शनिबार पहिलो खेल खेलेकी थिन् ।
अञ्जिला ग्रिसको नीस अट्रोमिटौबाट डेब्यु खेलमै सुरुवाती ११ मा परेकी थिन् । तर, उनको टोली चार-शून्यले ओएफआई एफसीसँग पराजित भयो । ११ खेलबाट ओएफआई २२ अंकसहित तालिकाको शीर्ष दुईमा छ । अञ्जिलाको टोली समान खेलबाट नौ अंकसहित नवौं स्थानमा छ । लिगमा १२ टोली समावेश छन् ।
नेपालबाट युरोपियन फुटबल खेल्ने अञ्जिला दोस्रो खेलाडी हुन् । यसअघि महिला टोलीकै फरवाड सावित्रा भण्डारीले इजरायल र फ्रान्सबाट खेलेकी थिन् । अहिले पनि सावित्रा फ्रान्सको लिग खेलिरहेकी छिन् ।
अञ्जिलालाई ग्रिसको क्लबले भदौमै अनुबन्ध गरेको थियो । तर, उहाँ आधा सिजन सकिएपछि मात्रै क्लबसँग जोडिनुभएको हो । उनलाई अट्रोमिटौले यही सिजनका लागि मात्रै अनुबन्ध सम्झौता गरेको छ । अञ्जिलाले यसअघि नेपालबाहिर भारत र पाकिस्तानका लिग खेलेकी छिन् । भारतको सेथु एफसीबाट दुई सिजन र पाकिस्तानको मासा युनाइटेडबाट एक सिजन खेलेकी हुन् । यी दुवै टोलीमा अञ्जिला कप्तान पनि हुन् ।