बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अमेरिकामा टिकटक पुनः सञ्चालनमा

सोमबार, माघ ७ २०८१

काठमाडौं । नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) पदभार ग्रहण गर्दैछन् ।

वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् ।

अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यसैबीच नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि अमेरिकामा १२ घण्टा बन्द भएको टिकटकले आफ्नो सेवा पुनः सुरु गरेको छ ।  ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि कम्पनीले यो निर्णय लिएको हो ।

टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई पुनः स्वागत गर्दै भनेको छ, ‘तपाईँको धैर्यका लागि धन्यवाद । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासका कारण टिकटक अमेरिकामा फर्किएको छ ।’ यसअघि, एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि शनिबार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो ।

अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानुन लागु भएपछि एप्पल र गुगल प्ले स्टोरमा पनि उपलब्ध थिएन । चिनियाँ कम्पनी बाइटडान्सको अन्य एप लेमन८ र क्यापकट पनि हटाइएको थियो ।

तर, आइतबार बिहान, ट्रम्पले सोमबारको शपथग्रहण समारोहपछि आफूले टिकटकलाई प्रतिबन्ध गर्ने कानुन लागु गर्न ढिलाइ गर्ने कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जनाएका थिए । यसको केही घण्टापछि कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालन गरेका छ ।

अमेरिकामा टिकटकमा १७ करोड प्रयोगकर्ता छन् ।