काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल)को १०औँ संस्करणको अक्सनमा परेका सबै नेपाली खेलाडी ‘अनसोल्ड’ भएका छन् । सोमबार सम्पन्न अक्सनमा सात नेपाली खेलाडी थिए । तर, कुनै पनि नेपाली खेलाडी बिकेनन् । पिएसएलको ड्राफमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अर्जुन साउद, देव खनाल, गुल्शनकुमार झा र सोमपाल कामी थिए । सन्दीप डायमन्ड र अन्य खेलाडी सिल्भर क्याटोगोरीमा थिए । गत संस्करणमा पनि नेपाली खेलाडी अनसोल्ड रहेका थिए ।
सन् २०२१ को पिएसएल ड्राफ्टमा पनि सन्दीप र सोमपालसहित ११ खेलाडी थिए । प्लाटिनममा सन्दीप र गोल्ड क्याटेगोरीमा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी ड्राफ्टमा परेका थिए । सोमपालसहित सुशन भारी, शरद भेषवाकर, सुवास खकुरेल, ललितनारायण राजवंशी, पवन सर्राफ, वसन्त रेग्मी, विक्रम सोब र सहाब आलम भने सिल्भर क्याटेगोरीमा थिए । तर, कोही बिकेका थिएनन् ।
गत वर्ष भने नेपालबाट आठ खेलाडी पिएसएलको ड्राफ्टमा परेका थिए । देव, आसिफ, आरिफ शेख, अर्जुन, दीपेन्द्र, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल परे पनि बिक्री भएनन् । पिएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किङ्स, लाहोर ग्लाडर्स, मुल्तान सुल्तान, पेसेवर जल्मी, क्वेटा ग्लाडियटर्स गरी ६ टिम सहभागी छन् । पिएसएल २०२५ आगामी अप्रिलदेखि मेसम्म हुनेछ ।