शनिबार राजकीय सम्मानका साथ अन्तेष्टि गरिने
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारत सरकारले सातदिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
९२ वर्षीय सिंहको उपचारका क्रममा दिल्लीस्थित एम्स अस्पतालमा बिहीबार राति निधन भएको थियो।
भारतीय सञ्चार माध्यमका अनुसार उनको निधनमा आजका सबै सरकारी कार्यक्रम रद्द गरिएका छन्। उनको अन्तिम संस्कार भने शनिबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ।
अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ।
घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो।
उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामौ समयदेखि उपचार भइरहेको थियो र बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८:०६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो ।
राति ९:५१ बजे उनलाई डाक्टरले मृत घोषित गरेका थिए ।
सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।
सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए ।
उनले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए।
उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिएका थिए ।
यसैबीच, भारतीय प्रधानमन्त्री मोदी,लगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् ।