शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

फागुन २ मा ‘रंगी’

बिहिबार, पुष ४ २०८१

काठमाडौं । चलचित्र ‘रंगी’ आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने भएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रको रिलिज मितिसहितको पोस्टर र मोसन पोष्टर बुधबार निर्माण टिमले सार्वजनिक गर्दै सिनेमाघरमा आउने मिति जानकारी दिएको हो ।

सार्वजनिक पोष्टरमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ । ग्रामीण बजारलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोष्टरमा आयुषी र सलोनलाई गम्भीर भावमा देखाइएको छ । त्यस्तै मोसन पोस्टरमा सलोन, आयुषी र ‘डेब्य’ नायिका नम्रता श्रेष्ठलाई देख्न सकिन्छ । नम्रता ‘मिस वल्र्ड नेपाल २०२०’की विजेता हुन्।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको यो चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । चलचित्रको प्रस्तुतकर्ता सलोन हुनुहुन्छ । उहाँका अनुसार चलचित्रले बाबुछोरीको कथा देखाउनेछ।

‘रंगी’ सलोनको डेब्यू निर्माण चलचित्र हो । ‘नेपाली बाबु’ चलचित्रबाट बाल कलाकारका रूपमा पाइला चालेका सलोनले चलचित्र ‘होस्टल’देखि ‘हिरो’का रूपमा अभिनय गरेका हुन्। निर्देशन न्यौपानेले भने ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायत चलचित्रमा मुख्य सहायक निर्देशनको रूपमा काम गरेका हुन्।

सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।