काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल पुगेको छ ।
ओपनर विनोदले अविजित रहँदै ५८ रन बनाएपछि जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो ।
यसैगरी ओपनर जेश जैबले ३२ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । ब्राण्डन म्याकमुलनले २५ रन बनाउँदा १६ बल खेलेका कप्तान दीपेन्द्रसिंह ऐरीले एक चौका र एक छक्काको मदतमा २० रन जोडे ।
बलिङतर्फ जनकपुरका ललित राजवंशी र किशोर महत्तोले समान एकएक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोडेको थियो । आज जनकपुरका लागि जिमी निशमले सर्वाधिक ४५ रनको योगदान गरे । २३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । राम्रो सुरुवात गर्न नसकेको जनकपुरका लागि यो इनिङ निकै महत्वपूर्ण बन्यो ।
नियमित कप्तान अनिल साह उपलब्ध नभएको खेलमा आज आशिफ शेखले कप्तानी सम्हालेका थिए । उनले १० बलमा ११ रन मात्रै जोडे । यसैगरी शुभ कंसाकारले २६ रन जोड्दा हर्ष ठाकर १२ रन, अरनिको यादवले ११ रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । साथै शेफ जैबले २ विकेट लिँदा स्कट कुग्गलेलिन र अविनाश बोहोराको नाममा समान एकएक रह्यो ।
लिग चरणको खेलमा पनि सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । पराजित टोली जनकपुरले अब फाइनलका लागि कर्णाली याक्ससँग खेल्नेछ ।