काठमाडौं । चलचित्र ‘फेरि रेशम फिलिली’ यस वर्षको महाशिवरात्रिमा सिनेमाघरमा आउने भएको छ । चलचित्र निर्माता पक्षले पोस्टर सार्वजनिक गर्दै महाशिवरात्रिको अवसरमा फागुन १४ गतेदेखि यो चलचित्र सिनेमाघरमा आउने घोषणा गरेको हो ।
चलचित्रको सार्वजनिक पोष्टरमा कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई उहाँहरूको पात्र लुक्समा देख्न सकिन्छ । नौ वर्षअघिको हिट चलचित्र ‘रेशम फिलिली’को यो दोस्रो शृंखला हो । दर्शकले श्रेष्ठलाई पहिलेकै भूमिकामा देख्न पाउनेछन् ।
सिनेमा आर्टको प्रस्तुति र भी मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यो चलचित्रमा निरोज महर्जनको लेखन, निर्देशन र रौनकविक्रम कँडेलको निर्माण छ । चलचित्रको सहनिर्मातामा एनी थापा छिन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी रहेका छन्। चलचित्रमा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वांगदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतिले छायांकन गरेको चलचित्रमा निरोज महर्जन र आकाश बरालको पटकथा, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ । शिवरात्रिमा ‘फेरि रेशम फिलिली’सहित अन्य दुई चलचित्रले पनि प्रदर्शन मिति घोषणा गरेका छन् । यो मितिमा ‘लाज शरणम’ र ‘मायावी’ले सिनेमाघरमा आउने यसअघि नै तय गरेका छन् ।