काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार खेलिएको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई जितका लागि एक सय ७१ रनको लक्ष्य दिएको छ । टस जिती ब्याटिङको निर्णय लिएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहितले ५९ बलमा १० चौका र ४ छक्काको मदतमा ९५ रन प्रहार गरे, ऐतिहासिक शतकबाट भने चुके । हालसम्म एनपीएलमा कसैले शतक प्रहार गर्न सकेका छैनन् । एनपीएलमा अर्धशतक प्रहार गर्ने कप्तान रोहित आठौं खेलाडी हुन् । उनी अन्तिम बलमा रनआउट भए ।
यसैगरी टम मुर्सले ४५ रन बनाउँदा सन्दीप जोराले १८ रन जोडे ।
बलिङतर्फ पोखराका विपन खत्रीले २ विकेट लिए । उनले लुम्बिनीका ओपनरद्वय आशुतोष घिरैया, उन्मुक्त चन्दलाई शून्यमै आउट गराएका थिए ।