बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरी महानिरीक्षक कुँवरबाट वडा प्रहरी कार्यालय वैदामको नवनिर्मित भवनहरू उद्‍घाटन

बिहिबार, मंसिर २० २०८१

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा प्रहरी कार्यालय वैदाम कास्की परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । साथै उनले  उक्त नवनिर्मित भवनहरूको अवलोकन समेत गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गरे।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पोखरा नेपालकै प्रमुख पर्यटकीय स्थल भएको उल्लेख गर्दै विद्यमान सुरक्षा चुनौतीको सामना गर्न एवम् कानूनको कार्यान्वयनमा नेपाल प्रहरीले नागिरकसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए। नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ प्रहरी केन्द्रीत हुनुपर्ने बताउँदै शून्य शहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले स्वागत मन्तव्य व्यक्त गरे। उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. ध्रुव अधिकारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। नेपाल सरकारको नियमित बजेटबाट कुल १० करोड ६० लाख ३३ हजार २० रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

उद्‍घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।