काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सले रोमाञ्चक जित निकालेको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सविरुद्ध २ विकेटको जित निकालेको हो। यो विराटनगरको एनपीएलमा पहिलो जित रहेको छ । यसअघि विराटनगर लगातार दुई खेलमा पराजित भएको थियो।
विराटनगरको जितमा ओपनर लोकेश बमले सर्वाधिक ७१ रन बनाए । उनले ४७ बल खेल्दै ३ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै बसिर अहमदले ४० रन, मार्टिन गप्टिलले २८ रन बनाएका थिए।
लुम्बिनीका दुरग्श गुप्ताले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै साद विन जफर र रामोन सिमोण्ड्सले २/२ विकेट लिए । सादले ३५ तथा सिमोण्ड्सले ३३ रन खर्चिए ।
सबैभन्दा महँगा बनेका विवेकले ३.५ ओभरमा ६४ रन खर्चेर १ विकेट लिए ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । त्यस्तै टम मुर्सले ३० रन, अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन सफरले समान १५ रन जोडे भने सन्दिप जोराले १२ रन बनाए ।अष्ट्रेलियन अलराउण्डर बेन कटिङ ६ रन बनाएर आउट भए । रामोन सिमोण्ड्स २ रनमा अविजित रहे । विवेक यादव ७ बलमा अविजित १९ रन बनाएका थिए।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी मगर र इस्मात आलमले समान १ विकेट लिए। लुम्बिनीका चार खेलाडी रनआउट भएका थिए ।