काठमाडौं । सत्ताबाट आश्चर्यजनक सहमति गरी कांग्रेस र एमालेले हुत्याएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सही नसक्नु भएको छ। सदनका दुई ठूला दलको संयुक्त सरकारलाई हल्लाउन समेत कठिन हुने भएपछि प्रचण्ड अहिले भारतीय पक्षको सहयोगको अपिल गरिरहेका कतिपय संकेत देखा पर्न थालेका छन्।
तर भारतीय पक्षसँग पनि नजिकको सम्बन्ध भएकी कांग्रेस नेतृ आरजु राणा देउवा सरकारको परराष्ट्रमन्त्री नै रहेका कारण प्रचण्डका लागि त्यो पनि दुखद हुने अवस्था छ। तैपनि अनेक माध्यम र मार्ग खोजिरहेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलन स्थगित गरेका पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाललगायतका नेता फेरि झस्किएका थिए। प्रतिनिधि सभा विघटनसहित ओलीले नयाँ चुनावको घोषणा गरेका थिए। एमालेबाहेक संसदमा रहेका नेपाली कांग्रेसको अनिवार्य साथले मात्र सत्ता ढल्न सक्थ्यो, अन्यथा चुनावको विकल्प थिएन।
त्यहाँमाथि शंखपार्कमा गणेशमानको शालिकमा तरुण दलले गरेको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले ‘यो निर्वाचन आयोग के गर्दैछ, चुनावको घोषणा गर्नु पर्दैन? मिति किन सार्वजनिक नगरेको?’ भनिदिएपछि प्रचण्डले आफैं प्रधानमन्त्री बन्ने सपना त्याग गरे। र, देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित बुढानिलकण्ठको दैलो चहार्न थालेका थिए।
‘त्यसबेला ६३ सिटे कांग्रेसले कसरी सत्ताको नेतृत्व गर्यो भन्ने त प्रष्ट नै छ नि, गठबन्धन बने पनि त्यसको दोस्रो दलका नेताले गृह मन्त्रालय लिने चलन छ। तर, कांग्रेसलाई नै दिन प्रचण्ड राजी भए’, उच्च स्रोतले भन्यो,‘राजनीतिक संकटको स्थिति थियो। प्रचण्ड मात्र होइन माधवकुमार नेपालको राजनीतिक ओजको पनि विषय थियो।’
देउवा कन्भिन्स हुन निक्कै कठिन थियो। आफैं सदन विघटन गरी चुनावको घोषणा गरिसकेको अभ्यासमा अभिसप्त देउवालाई परिस्थितिको राम्रो अध्ययन थियो। तर, प्रचण्ड कन्भिन्स गराउने मूडमा अनेकथरी गरिरहेका थिए।
ओली सरकार ढाल्नका लागि प्रचण्डलाई कम सकस थिएन। नेपाली कांग्रेस र देउवा चुनावकै लागि अगाडि बढ्ने त हैनन् भन्ने प्रचण्डमा आशंका थियो। देउवालाई सहमतिमा ल्याउनका लागि प्रचण्डले आरजु राणाको उपयोग गरे।
आरजुले देउवालाई प्रधानमन्त्री बन्ने प्रचण्डका सबै योजना सुनाएपछि मुलुक चुनावतिर नभई सर्वोच्चको अर्को फैसलातिर केन्द्रित भयो। हाल एमालेभित्र ओलीले रावललाई कर्नरमा राख्नुको कारण पनि त्यसबेलाको हस्ताक्षर प्रकरण नै भएको एमालेभित्र चर्चा हुन्छ। सरकार बनेपछि दल विभाजनसम्बन्धी खुकुलो प्रावधानको अध्यादेश ल्याउन पनि प्रचण्डको भूमिका थियो। जसले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी गठनका लागि बाटो मात्र खुलेन, एमालेले कारबाही गरेका सांसद पनि पद गुमाउनबाट बचेका थिए।
प्रचण्डले यहाँसम्मको खेल खेलिदिए कि हाल माओवादी उपाध्यक्ष रहेका अग्नी सापकोटा सभामुख हुँदा एमालेको सांसदलाई कारबाही सिफारिस कार्यान्वयन नगर्नका लागि निर्देश गरेका थिए। जबकि नेकपा विभाजन हुँदा टोपबहादुर रायमाझीलगायतका नेतालाई माओवादीले गरेको कारबाही सिफारिस बिलम्ब नगरी कार्यान्वयनमा गएको थियो।
एमालेको विभाजन गराउने, माओवादीलाई मोर्चाबन्दीमा राखेर बचाउने खेल मात्र होइन सत्तामा कसरी कहिले उक्लिने भन्ने छटपटिमा प्रचण्ड रहन्छन्। यसैकारण ओलीले भनेका थिए,‘प्रचण्ड स्थिर भएर बस्न सक्ने मान्छे होइन, छटपटी चलिरहन्छ।’