काठमाडौं । यही शुक्रबारदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ गीत ‘भगवान् नै आमा हुन्’ सार्वजनिक गरिएको छ । आमाको महिमा वर्णन गरिएको गीत मर्मस्पर्शी छ । सार्वजनिक गीतमा सत्यराज आचार्यको गायन तथा बाबुल गिरीको शब्द रचना छ । सार्वजनिक लिरिकल भिडियोमा चलचित्रभित्रका चलरअचल दृश्य समावेश छन्।
सन्तानका लागि एक आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा छ । अभिनेत्री विपना थापालाई आमाको रूपमा चित्रित गरिएको छ । उनको अभिनय मनछुनेछ । उनले यही फिल्मबाट १३ वर्षपछि कमब्याक गरेकी हुन्।
चन्द्र्र पन्तको निर्देशनमा तयार भएको यो चलचित्रमा नेपाली र दक्षिण भारतका कलाकारहरूको अभिनय छ । चलचित्रमा साउथबाट ब्रहृमानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकार विपनासँगै नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झालगायतको अभिनय छ।
हरिहर अधिकारीको कथा, प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका प्रसिद्ध छायाँकार कवीरलालले खिचेका हुन्। नीता ढुंगाना निर्माता र धनन्जय गलानी कार्यकारी निर्माता रहेको चलचित्र विश्वभर नेपाली र हिन्दी भाषामा सार्वजनिक हुनेछ । तेलुगु भाषामा पनि चलचित्रलाई स्वरांकन गरिएको छ।