बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ।
बुद्ध एयरको विमानबाट आज नै पोखराबाट भैरहवा ल्याइएका लामिछानेमाथिे रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान लिन लागिएको हो।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा ल्याइएको हो ।
रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु भएको जानकारी दिए । उनका अनुसार सकेसम्म आजै बयान सक्ने तयारी भएपछि पोखराबाट आउँदा नै ढिलाई भएकाले आजै पूरा नहुने भएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानमा देखाइएको छ ।