विराटनगर। मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातोकोत्तरमा पढाई सुरु गर्ने भएको छ।
विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर यही मंसिरदेखी पठनपाठन सुरुहुनेगरि स्नातकतर्फ विविए एलएलबी र स्नातक तर्फ अपराध शास्त्रमा एलएलएम कक्षा सुरु गर्ने तयारी पुरा गरेको हो।
स्नातकतर्फ नेपालमै पहिलो पटक विविए एलएलबीको पाठयक्रम निर्माण गरेर पढाई सुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए । ‘व्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्त्ति उत्पादन गर्न हामीले नयाँ नमुना कोर्ष निर्माण गरेर पठनपाठन सुरु गराउन लागेका हौ ’, उपकुलपति पोखरेलले भने ।
उपकुलपति पोखरेलका अनुसार विविए एलएलबीको कोर्ष ५ बर्षको हुनेछ । विद्यार्थीहरुले अति न्युन शुल्क ४ लाख ५० हजारमै कोर्ष पुरा गर्न पाउनेछन । मनमोहनले नयाँ कोर्ष अनुसार कानुन पढन चाहने विद्यार्थीहरुलाई विशेष छात्रबृत्तीको व्यावस्था पनि गरेको छ । महिला , दलित लगायतलाई ४५ सिटको कोटा मध्येबाट दश प्रतिशत छात्रबृत्ती प्रदान गरिनेछ
विविए एलएलबी कोर्षमा सैद्धान्तिक नभएर बढि प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । यो विषय पढने विद्यार्थीहरुले आफै अनुसन्धान र सर्वे गर्नेदेखी डिजिटल अपराधका बारेमा पनि प्रयोगात्मक ज्ञान पाउनेछन । यसैगरि खरिद प्रकृयाबारे पनि बिद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिइनेछ।
विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेका अनुसार नयाँ कोर्ष अनुसार विविए एलएलबी र एलएलएमतर्फ कानुनी शिक्षा पढाउन विदेशबाट समेत विज्ञ शिक्षकहरु ल्याइनेछ।
कानुन पढन चाहने विद्यार्थीहरुले यही कार्तिक मसान्तभित्र अनलाइन मार्फत आवेदन दिइसक्नुपर्नेछ।
कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनमा हालसम्म सिभिल र ईलेक्टोनिक्स एण्ड ईलेक्टिक ईन्जिनियरिंगमा स्नातक , विफर्मातर्फ स्नातक र अस्पताल व्यावस्थापनतर्फ स्नातोकोत्तरको पढाई सुरु गरिसकेको छ।
२०७६ मा स्थापना भएको यो विश्वविद्यालयले दश बर्षभित्र तीन वटा स्कुल अन्र्तगत विभिन्न २८ बिषयमा पिएचडीसम्मको पठनपाठन गराउने लक्ष्य लिएको छ।