बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल

आइतबार, कार्तिक २५ २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले सामाजिक रूढीवादी परम्पराको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिएको मार्गनिर्देश अनुशरणयोग्य रहेको बताएका छन् ।

राष्ट्रपतिले सन्देशमा भनेका छन्, “फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ ।” सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्दले धार्मिक गुरुमात्र नभई सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई कार्यसमेत गर्नुभएको उनले स्मरण गरेका छन् ।

राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भनी कामना गरे ।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि निर्वाह गरेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उनको जन्मजयन्ती मनाउने गरिन्छ ।