बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कोशीका पूर्वमन्त्री अधिकारीमाथि एमालेकाे कारबाहीको तयारी

शनिबार, कार्तिक २४ २०८१

काठमाडौं । नेकपा (एमाले) ले मानव तस्करीमा जोडिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई कारबाहीको तयारी गरेको छ ।

आज बस्ने केन्द्रीय सचिवालय बैठकले उनको कारबाहीका बारेमा निर्णय गर्ने बताइएको छ ।

जापानको कार्यक्रममा जाने क्रममा ६ जना युवालाई सँगै लगेको घटना बाहिरिएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनले यस अघि नै जापान जाने क्रममा आफू माथि विभिन्न टिका टिप्पणी भएको भन्दै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा राजीनामा दिएका थिए ।

अधिकारीले नेकपा एमाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न पार्टीमा निवेदन दिएका छन् ।

जापान भ्रमणको सिलसिलामा उठेको सार्वजनिक टीकाटिप्पणी र आरोप प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भई त्यस बारेमा स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पद मुक्त गरिदिन उनले निवेदनमा भनेका छन् ।

एमाले केन्द्रीय अनुशासन आयोगको अध्यक्ष केशब बडालले अधिकारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही हुनसक्ने बताए । बडालका अनुसार आज बस्ने केन्द्रीय सचिवालय बैठकले यसबारे निर्णय गर्नेछ ।