बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वेब सिरिज ‘मिर्जापुर’ मा चलचित्र बन्ने

बुधबार, कार्तिक १४ २०८१

एजेन्सी । चर्चित भारतीय वेब सिरिज ‘मिर्जापुर’ मा आधारित रहेर चलचित्र निर्माण हुने भएको छ । हालै ‘मिर्जापुर’ सिजन ३ को सफलतापछि अमेजन एजिएम स्टुडियोज र एक्सेल इन्टरटेनमेन्टले चलचित्र बनाउने घोषणा गरेका हुन् ।

‘मिर्जापुर यसको रोचक पात्र, अविस्मरणीय संवाद र आकर्षक कथाका कारण आजको सबैभन्दा लोकप्रिय फ्रेन्चाइज भएको छ । हामी हाम्रा दर्शकको प्राथमिकताअनुरूपका सामग्री सिर्जना गर्नमा गर्व गर्छौं । मिर्जापुरको बढ्दो लोकप्रियतालाई आत्मसात गर्दै हामी यो फ्रेन्चाइजलाई थिएटरमा ल्याउन उत्सुक छौँ,’ प्राइम भिडियोका कन्टेन्ट प्रमुख मनिष मेन्घानीले भनेका छन्।

पुनित कृष्ण निर्माता रहेको यस चलचित्रलाई गुरमीत सिंहले निर्देशन गर्ने भएका छन्। चलचित्रमा मिर्जापुर सिरिजकै चर्चित पात्रहरू कालिन भैया (पंकज त्रिपाठी), गुड्डु पण्डित ९अली फजल० र मुन्ना त्रिपाठी ९दिव्येन्दु०सहित अभिषेक वनर्जी मुख्य भूमिकामा देखिनुहुनेछ । क्राइम थ्रिलर जनरामा बन्ने यो चलचित्र सन् २०२६ मा सिनेमा घरमा ल्याइने बताइएको छ ।

सिनेमा हलमा रिलिज भएको आठ हप्तापछि यो चलचित्र प्राइम भिडियोमा स्ट्रिमिङ हुनेसमेत बताइएको छ । २४० भन्दा बढी देशहरूबाट प्राइम सदस्यहरूले हेर्न पाउनेछन् ।

चर्चित मिर्जापुरको पहिलो सिजन नोभेम्बर २०१८ मा र दोस्रो सिजन अक्टोबर २०२० मा रिलिज भएको थियो । २०२४ मा रिलिज भएको शोको तेस्रो सिजनले पनि निकै चर्चा बटुलेको थियो ।