बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरीमा बढुवा राजनीति

दुई एआईजी र ८ डीआईजी बढुवाका निम्ति प्रहरीका हाकिम शक्ति केन्द्रको निरन्तर सम्पर्कमा

सोमबार, कार्तिक १२ २०८१

काठमाडौं । शक्ति केन्द्रको प्रयोग र उपयोगमा पदीय जिम्मेवारी लिने उपक्रम अहिलेसम्म पनि रोकिएको छैन। अहिले थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा तत्कालिन प्रहरी अधिकारीले इञ्चार्जदेखि अनेक जिम्मेवारी लिए। यहाँसम्मकी अख्तियारमा उजुरी हुँदा पनि रवि लामिछानेले एआईजी पदमा रहेका श्यामलाल ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बनाए।

राजनीतिक समीकरणको राँटो जसरी बटारिन्छ, प्रहरीभित्रको राजनीति र चलखेल पनि सोही शैलीमा घुम्ने गरेको छ। यहि उपक्रम अब हुने बढुवामा पनि लागू हुनेछ।

कात्तिक १७ गतेपछि नेपाल प्रहरीका दुई अतिरिक्त महानिरिक्षक (एआईजी) र ८ नायव महानिरिक्षक (डीआईजी) पद रिक्त हुने भएपछि बढुवाका निम्ति तिव्र प्रतिस्पर्धा सुरु भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कि डिआईजी किरण राणालाई एआईजी पदमा बढुवा सिफारिस भइसकेको छ। चार दिनका लागि उनी मन्त्रिपरिषदको बैठकबाट एआईजी बढुवा हुनेछिन्। उमेर हदका कारण उनी १५ कात्तिकमा अवकाशमा गएपछि एआईजी पद रिक्त हुन्छ।

यसैगरी १७ कात्तिकमा एआईजी रामदत्त जोशी पनि उमेर हदका कारण अवकाशमा जानेछन्। अनि, प्रहरीमा दुई एआईजी रिक्त हुनेछन्।

उनीहरू पछि ६ वैशाख २०८० मा बढुवा भएका डीआईजीहरू पनि एआईजीको प्रतिस्पर्धाको दौडमा छन्। ६ वैशाखमा बढुवा भएकाहरूबाट कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रवीन्द्र केसी, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी एआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

उमेर हद सकिएका कारण भरतपुर शिक्षालयमा रहेका नेपाल प्रहरीका नायव महानिरिक्षक (डीआईजी) राजेशनाथ बास्तोला आइतबारबाट सेवा निवृत्त भएसँगै अब रिक्त पदमा बढुवामा बरिष्ठ उपरिक्षक (एसएसपी)हरूको तिव्र प्रतिस्पर्धा सुरु भएको छ।

राणा र जोशीको ठाउँमा डीआईजी बढुवा भएपछि दुई दरबन्दी रिक्त हुँदैछ। यसअघि नै डीआईजी यज्ञविनोद पोखरेल १४ असोजमा ५६ वर्षे उमे हदका कारण अनिवार्य अवकाशमा गएका थिए त्यसअघि डीआईजी बिष्णुकुमार केसी पनि अनिवार्य अवकाशमा गइसकेका छन्।

रामदत्त जोशी एआईजीमा बढुवा तथा पोषराज पोखरेल अवकाशमा गएपछि पनि डीआईजी पद रिक्त छन्।

अहिले एआईजी बढुवा सिफारिस भएकी राणा १५ कात्तिकमा ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछिन्। त्यसको २ दिनपछि १७ कात्तिकमा अर्का एआईजी रामदत्त जोशी पनि उमेरहदकै कारण अवकाशमा गएपछि ८ पद रिक्त हुनेछन्।

त्यसपछि बढुवा समितिले डीआईजीका निम्ति गृहकार्य गर्नेछ। त्यसका निम्ति अहिलेदेखि नै प्रतिस्पर्धा र दौडधुप सुरु भइसकेको बताइएको छ।

डीआईजी बढुवाका लागि ती ब्याचका अधिकारीको प्रतिस्पर्धा चर्को छ।

२०५१ चैत ५ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएकाहरू ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

यी बाहेक २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको ब्याच र २०५४ मा नेपाल प्रहरीकै इन्सपेक्टरमा भर्ना भएको ब्याचका अधिकृतहरू डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

२०५३ को टोलीबाट शिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ओमबहादुर राना डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

२०५४ को ब्याचबाट ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया डीआईजीको प्रतिस्पर्धामा छन्।

माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिपसिंह देउवा, बिनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराम सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जय शर्मा दास, शारदाप्रसाद चौधरी पनि डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

प्रहरीभित्रको राजनीति बुझिनसक्नु छ। अब हुने बढुवामा मात्र होइन, आउने सरकारहरूले पनि यो क्रमलाई निरन्तरता दिनेछन्। तर, प्रहरी ऐन अबको संसद अधिवेशनले पारित गरेको खण्डमा भने यो क्रम अलिक न्यूनीकरण हुन सक्ने अनुमान गरिएको छ।