काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजारस्थित सडकमा सु.प.प्र.०१–०१२प ७२७९ नम्बरको मोटरसाइकललाई सु.प.प्र.०१–००२ त ६१८७ नम्बरको ट्याक्टरले बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१० बस्ने २७ वर्षीय सुशिल बिकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै निषर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाराको पचरौता नगरपालिका–८ लङडाचोकस्थित सडकमा बीआर ०५ एटी ८५९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत रामगढवा घर भएकी ५० वर्षीया गिता ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवनको भरतपुर महानगरपालिका–१० स्थित सडकमा चौबिसकोठीबाट पुलचोकतर्फ जाँदै गरेको बा.प्र ०३ ००१ प ४७६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक नवलपरासी पूर्व गैंडाकोट बस्ने ५० वर्षीय प्रेम परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।