बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने

शुक्रबार, कार्तिक ९ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको छ ।

सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको हो ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ । साथै विहिबार नै लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगीको आरोपमा रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगीमा अनुसन्धान जारी रहेका बेला अब लामिछानेमाथि प्रहरीले अदालतमा सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्ने जानकारी दिएको छ ।

यही कात्तिक २ गते पक्राउ परेका सभापति लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान गरिएकामा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सहकारीको रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।