काठमाडौँ । प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विषयमा छलफल भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् । विपक्षी दलहरुको बैठकमा प्रचण्डले तीन दलको बैठकमा भएको छलफलका आधारमा यस्तो विश्लेषण सुनाएका हुन् ।
बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।
ती नेताका अनुसार सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा लागेको निष्कर्ष बैठकले निकालेको छ ।
टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो ।
यस्तै विपक्षी दलहरुको बैठकमा नेताहरुले सरकारले साना दलहरुलाई फुटाउन अध्यादेश ल्याउनसक्ने विश्लेषण पनि गरेका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिने निर्णय गर्दै सुनुवाइ नभए विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ ।