बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

कस्तो छ दशैँ अवधिभरको मौसम ?

बुधबार, असोज २३ २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विजयादशमीसम्मको मौसम प्रक्षेपण गरेको छ । महाशाखाले दसैँको सप्तमी (२४ असोज), अष्टमी–नवमी (२५ असोज) र दशमी (२६ असोज)को मौसमबारे आकलन गरेको हो ।

महाशाखाका अनुसार बिहीबार अर्थात् सप्तमी (फूलपाती)देखि दशमीसम्म कोशी र मधेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी क्षेत्रमा अझै पनि मनसुनी वायुको प्रभाव कायमै छ ।

बागमती र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ । तर, यी भू–भागका धेरै क्षेत्रबाट मनसुन बाहिरिसकेको छ ।

मनसुन पूर्ण रूपमा बाहिरिएको क्षेत्रमा भने घमाइलो हुने देखिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकीका तराई क्षेत्र र बागमतीका पश्चिमी क्षेत्रमा मौसम सफा हुने आकलन गरिएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार वर्षाको सम्भावना रहेको क्षेत्रमा ठुलो वर्षा हुने देखिँदैन ।