बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

कागेश्वोरी मनोहराकाे वीरेन्द्रचोकमा नवदुर्गा मन्दिरसंगै मुल प्रवेशद्वार निर्माण

आइतबार, असोज २० २०८१

काठमाडौं । कागेश्वोरी मनोहरा नगरपालिका अन्तर्गत वीरेन्द्रचोक स्थित वडा नम्बर ०७ मा रहेको नवदुर्गा मन्दिरसंगै मुल प्रवेशद्वार निर्माण गरिएको छ।

नवदुर्गा टोल सुधार सेवा समाजको सक्रियता र टोलबासीको सहयोगमा लगभग सातलाखको खर्चमा निर्माण गरिएको कलात्मक प्रवेशद्वारको लागी कागेश्वोरी मनोहरा नगरपालिका अन्तर्गत वडा नम्बर ०७ का वडा अध्यक्ष भिम थापाले वडाको तर्फबाट आफुले सकेसम्मको सहयोग गर्ने आश्वासन दिएको संस्थाका अध्यक्ष गोबिन्दबहादुर भट्टराईले बताए ।

यसैगरी संस्थाका उपाध्यक्ष गोरखराज ओझाले नवदुर्गा मदिरसँगै निर्माण गरिएको प्रवेशद्वारले यस ठाँउको ऐतिहासिक र धार्मिक महत्त्वमा वृद्धि गर्नाका साथै धार्मिक पर्यटक आवागमनमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।
।
दक्ष कालिगड द्वारा दुई महिना लागाएर निर्माण कार्य सम्पन्न गरिएको यस् प्रवेशद्वारको वरिपरि विभिन्न जातका फूलहरुको बगैचा पनि तयार गरिएको संस्थाका सचिब पर्शुराम अधिकारीले बताए ।

करिब डेढ बर्ष अघि मात्र नवदुर्गा टोल सुधार सेवा समाजकै सक्रियतामा नगरपालिका ,वडाकार्यलय र टोलबासिको सहयोगमा निर्माण कार्य सम्पन्न भएको नवदुर्गा मन्दिरमा घटस्थापनाको दिन नवदुर्गा टोलबासीले संयुक्त रुपमा जमरा राख्ने कार्य सम्पन्न गरेका छन् ।

मन्दिरमा मुल पुजारीको अनुपस्थितिमा जेष्ठ नागरिक दुर्गा चौलागाईंद्वारा पूजाआजा, प्रसाद वितरण , आरती र किशोरचन्द्र भट्टराईद्वारा चन्डिपाठ हुने गरेको छ। दशमीको दिन बिहान देवि विसर्जन गरि सम्पुर्ण टोलबासी भक्तजनलाईजमारा बितरण गरी मन्दिर भित्र गरिने सम्पूर्ण कार्य सम्पन्न हुने संस्थाका कोषाध्यक्ष महेन्द्र थपलियाले बताए ।

मन्दिरमा पूजा गर्न चाहिने पूजाआजाका सामाग्री, प्रसाद्का लागी चाहिने फलफुल र नैबेद सम्पूर्ण टोलबासीले पालैपालो गरेर लैजाने गरेको संस्थाका सदश्य उमा रेग्मी भट्टराईले बताए ।