बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देश अभिभावकविहीन भएकाले राजा चाहियो भनेका हौंः अध्यक्ष लिङ्देन

शनिबार, असोज १९ २०८१

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश अभिभावकविहीन भएकाले राजा चाहिएको बताएका छन् । झापाको मेचीनगरस्थित काँकडभिट्टामा आयोजित राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको झापा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष लिङ्देनले देश अभिभावबिहीन अवस्थामा पुगेकाले राजालाई अभिभावक बनाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘राजा आउँछन् र हामीलाई प्रधानमन्त्री बनाउँछन् भनेर राजा चाहियो भनेको होइन । देशको अभिभावकत्वका लागि राजा चाहियो भनेका हौं ।’ ठूला राजनीतिक दलका नेताहरूकै कारण नेपालको अवस्था बिग्रिँदै गएको उनले आरोप समेत लगाए । देशको अवस्था बिग्रे नेताहरूको केही नबिग्रिने तर युवा वर्गको भविष्य बिग्रिने उनले बताए ।

इच्छाशक्ति देखाएर काम गरे पाँच बर्षमा देशको अवस्थामा सुधार हुने उनले बताएका छन् । राप्रपाले सत्ताको नेतृत्व गर्ने मौका पाए दश बर्षमा युवालाई देशमै भविष्य खोज्ने वातावरणको निर्माण गर्ने उनले दाबी गरे । राजनीतिमा अब युवाले हस्तक्षेप गर्नुपर्ने लिङ्देनले बताए । आफू पनि विद्यार्थी संगठनबाट राजनीतिमा आएको बताउँदै उनले अब युवावर्ग राजनीतिमा होमिनुपर्ने बताए । राप्रपाको विद्यार्थी संगठनमा आवद्ध भएपछि अनुशासित बन्नुपर्ने भन्दै विद्यार्थीहरूलाई उनले निर्देशन दिए ।