काठमाडौं । कोशी र मधेस प्रदेशलाई छोटो दूरीमा संघीय राजधानी काठमाडौं जोड्ने बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग बाढी र पहिरोका कारण ध्वस्त भएको छ।
संघीय राजधानी काठमाडौंदेखि काभ्रे, सिन्धुली हुँदै पूर्वतर्फ जान र आउन लाइफलाइन मानिने वीपी राजमार्ग अशोज ११ र १२ गतेको वर्षापछिको बाढी र पहिरोले अवरुद्ध भएकाे हाे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दशैँअघि नखुल्ने बताएको छ ।
बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध विपी राजमार्ग दशैँ अगाडी सञ्चालनमा नआउने जानकारी दिए । उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दशैँ अगाडी विपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख गरे।

यद्यपी खुलाउने प्रयास भने जारी राखिने उनको भनाई थियो । खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उनले स्पष्ट पारे। स्थायी संरचना बनाउन २० देखि २५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भीक अनुमान गरिएकाे छ ।
रोशीमा आएको बाढीका कारण नेपालथोक–भकुण्डेबेंसी खण्डमा मात्रै करिब दुई हजार ३ सय मिटर बीपी राजमार्ग पूर्णरूपमा क्षति भएको छ । नेपालथोकसहित यो खण्डका ६ स्थानमा रोशीको बाढीले कालोपत्रेसहितको सडकमा पूर्ण क्षति गरेको छ।
त्यसमध्ये रोशी र घ्याम्पेडाँडामा नेपाल प्रहरीको पहलमा स्काभेटर, जेसीबी तथा डोजरको प्रयोग गरेर ट्रयाक निर्माणको काम थालिएको छ। काभ्रेको चौकीडाँडामा भने झन्डै ५ सय मिटर रोशीले बगाउँदा ट्रयाक खोल्न समेत निक्कै कठिनाइ हुने बताइएको छ। रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना भन्ने ठाउँमा २ सय मिटर सडक बगेको छ।
रोशी खोला र सुनकोशी नदीको बाढीले ठाउँ-ठाउँमा राजमार्ग भत्काएको मात्रै छैन, पहिरोले समेत दर्जनौं स्थानमा सडक पुरेको छ । दशैंको मुखमा वीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु हैरानीमा छन् ।
बीपी राजमार्गको खुर्कोट–नेपालथोक, नेपालथोक–भकुण्डेबेंसी र भकुण्डेबेंसी–धुलिखेल खण्डको दुई हजार पाँच सय मिटर सडक रोशीको बाढीले पूरै बगाएको छ। त्यस खण्डमा सडकको नामोनिसाना नै छैन।

मित्रराष्ट्र जापान सरकारको करिब २६ अर्ब जापानी येन अर्थात् झन्डै २५ अर्ब अनुदान सहयोगमा चारखण्डमा विभाजन गरेर ०५२ सालबाट यस राजमार्गको निर्माण थालिएको थियो। करिब २० वर्ष लगाएर बनेको बीपी राजमार्ग नेपालको प्रमुख बैकल्पिक राजमार्ग समेत हो। प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता विशेश्वरप्रसाद कोइराला (बीपी कोइराला) को नाममा निर्माण गरिएको यस राजमार्गले धनुषा, महोत्तरी, सिन्धुली, रामेछाप र काभ्रे जिल्लाका पहाडी क्षेत्रको विकासको ढोका समेत खुला गरेको थियो। पूर्वी नेपाल र मध्य तराईलाई छोटो दूरीमा संघीय राजधानी काठमाडौं जोड्ने मात्र हैन, बीपी राजमार्गले यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिशीलतालाई समेत बढाउन मद्दत गरेको थियो।
तर, दुईदिनको वर्षातले निर्माण सम्पन्न भएको १० वर्ष पनि नबित्दै क्षतविक्षत बनाइदिँदा नियमित यातायात सञ्चालन सँगै यस क्षेत्रको विकास क्रम समेतपछि धकेलिएको छ।