बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

बाढी–पहिरो र डुबानपीडितका पक्षमा सर्वदलीय बैठकले गर्‍यो यस्ता नौं निर्णय

आइतबार, असोज १३ २०८१

काठमाडौँ । सर्वदलीय बैठकले बाढी पहिरोबाट प्रभावितहरूको खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर सरकारका गतिविधि अघि बढाउने निर्णय गरेको हो ।

पहिरोका कारण प्रभावित तथा घाइतेको तत्काल खोज तथा उद्धारमा जुट्ने निर्णय गरेको मन्त्री गुरुङले बाढी बताए । त्यसका साथै आवागमन अवरुद्ध भएर बाटैमा फसेका यात्रुलाई यातायात व्यवसायी र प्रशासनको सहयोगमा गन्तव्यमा पुर्‍याउने, यातायात आवागमन सुचारु गर्ने, विद्युत् आपूर्ति, र टेलिफोन र खानेपानी सम्बन्धित मन्त्रालयले तत्काल सुचारु गर्न पहल गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।

यस्ता छन् सर्वदलीय बैठकका निर्णयहरू :-

१. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनुभएका सम्पूर्णजनमा हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । सम्पूर्ण घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

२. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने ।

३. वर्षाका कारण गएको पहिरो र बाढीले आवागमन अवरुद्ध भई गन्तब्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरूलाई सम्बन्धित जिल्ला विपद व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याउने ।

४. देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा सानो ठूलो रोकावट आई आवागमन अवरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन सूचारु गर्ने । यसै गरी उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाईन र विद्युत गृहहरूको मर्मत संभार गरी विद्युत आपूर्ती र सूचना तथा संचार प्रविधि मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथासक्य छिटो सूचारु गर्ने । बाढी र पहिरोको कारण क्षतिग्रस्त भएका खानेपानी प्रणालीको मर्मत संभार गरी खानेपानी आपूर्ती गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने ।

५. मौसममा क्रमिक सुधार आईरहेको भएता पनि विनाशकारी बाढीका कारण सिर्जित विषम परिस्थितीमा जनस्वास्थ्यको सवाल अहम हुने भएकोले विपद पछिको महामारीको सम्भावनालाई न्यूनीकरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक दुबै विधी प्रयोग गरी प्रभावित क्षेत्रमा औषधी उपचार र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने ।

६. विपदको चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको दशै, तिहार, छठ जस्ता पर्वहरूलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्याँस लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरू सूपथ मूल्यमा सजिलै सँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने ।

७. बाढीका कारण क्षतिग्रस्त पूल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा पशुपंक्षी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरि पुनर्निर्माणको लागि आवश्यक प्रकृया अघि बढाउने ।

८. बाढी पहिरोबाट घरवास गुमाएका पीडितहरूका पुनर्स्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरण सँगको समन्वयमा शहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडी बढाउने ।

९. विपतको यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र नीजि क्षेत्र समेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण नीजि क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने ।