काठमाडौं : इलाम, माई नगरपालिका–८ स्थित सेते खोलाले बगाएर सोही ठाउँ बस्ने ६८ वर्षीय मैत बहादुर लिम्बुको शुक्रबार दिउँसो मृत्यु भएको छ । खोलाले बगाएर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सिन्धुली, कमलामाई नगरपालिका–९ स्थित सुकेखोलाले बगाएर सोही नगरपालिका–१३ घर भई सोही नगरपालिका–९ पन्नेसी बस्ने ४६ वर्षीय कृष्ण बहादुर बोगटीको शुक्रबार राति मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।