काठमाडौं । काठमाडौँ शंखमुल बागमती खोला छेउ कोरिडोर रोडमै खोला बग्न थालेको छ ।
बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ ।
चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की पुलको छेउँमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ ।
खोलाले बगाएर ल्याएको ग्यास बुलेट यति बेला ललितपुरस्थित च्यासल एमाले पार्टी अफिस नजिकै पुलमा अड्किएको छ। त्यस क्षेत्र मा प्रहरी परिचालन गरिए पनि पुलमा अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको छ । हनुमन्ते खोलाले बगाएर ल्याएको बुलेट अड्किएको र ग्यास चुहिरहेको छ ।

मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ ।
बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बिपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका यस क्षेत्रका साना र ठूलागरी धेरै सडक अवरुद्ध छन् ।
अन्य प्रदेशमा पनि राजमार्ग अवरुद्ध तथा खोला र नदी किनारका खेतीयोग्य जमिन कटानका थुप्रै घटना भएका छन् ।
प्रहरी प्रशासनले खोला किनारका बाटोमा यात्रा गर्न रोक लगाएको छ ।