काठमाडौँ – माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा जोडिएको संक्रमणकालीन न्यायसँग जोडिएको मुद्दाको सुनुवाइ फेरि शून्यबाट हुने भएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले गत वैशाख १२ गतेदेखि निरन्तर सुनुवाइ गरेर निर्णय सुनाउन मात्रै बाँकी राखेका तीनवटा रिटको सुनुवाइ फेरि हुने भएको हो। काभ्रेका अर्जुन लामाको हत्यासँग जोडिएको यी रिट १२ वर्षदेखि सर्वोच्चमा विचाराधीन थिए।
चौथोपटक बुधबार निसु (निर्णय सुनाउन) राखिएको पेशीमा संवैधानिक इजलासले अन्य आदेश गरेर फैसला सुनाउनबाट पन्छिएको हो। सर्वोच्चका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले मिसिल झिकाउने आदेश मात्रै भएको जानकारी दिए। उनले भने, ‘यसमा मिसिल झिकाउने अन्य आदेश भएको छ। यसपटक निर्णय नआउने भएको छ।’
प्रधानन्यायाधी श्रेष्ठ यहीँ असोज २० गतेदेखि उमेर हदका कारण अवकासमा जाने भएकाले अब यी रिटको सुनुवाइ अर्को प्रधानन्यायाधीश आएपछि सुरुबाट हुनेछ।
श्रेष्ठ नेतृत्वको इजलासले वैशाख १२ गते बहस सकेर जेठ २३ गते, साउन २३ गते, भदौ १२ गते र बुधबार (आज)का लागि निसु तोकेको थियो। तर घर जाने बेला न्यायाधीश नियुक्त गर्न नपाएर असन्तुष्ट बनेका बनेका श्रेष्ठले निर्णय सुनाउनबाट पछि हटेका हुन्।
यी रिटको सुनुवाइका लागि श्रेष्ठसहति न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी रहेको इजलास गठन गरिएको थियो।