बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मुकुलको अनुरोध : पार्टी कार्यालयमा लुकेर बसेको सहकारी ठगलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिनुस्

सोमबार, असोज ७ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा‍. मुकुल ढकालले व्यक्ति विशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग गर्न नहुने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत पूर्वमहामन्त्री मुकुलले रास्वपा सभापति रवि लामिछानेको नाम उल्लेख नगरी पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन आग्रह समेत गरेका छन्।

सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पार्टीभित्र बसिरहन नैतिकताले नदिने बताएका छन्।

ढकालले आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा बसेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन रास्वपाका कार्यकर्ताहरूलाई अनुरोध समेत गरेका हुन्।

‘प्रिय रास्वपा मित्रहहरू हामीले बनाएको पार्टी भ्रष्ट, ठग, दलाल र अपराधीको संरक्षणको लागि होइन बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानुनभन्दा माथि कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस्’ ,उनले लेखेका छन्, ‘विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुनुहुँदैन,गर्नुहुँदैन ।’

लामिछानेमाथि सहकारीको अरबौं रकम अपचलन गरेको आरोप छ। सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न गठित छानबिन विशेष समितिले पनि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी आइतबार पक्राउ परेपछि रविमाथि पनि सम्भावित पक्राउको भय छ । पक्राउ पर्ने आशंकाले आइतबार साँझ रविसहित रास्वपा कार्यकर्ता पार्टी कार्यालयमा भेलासमेत भएका थिए । प्रहरी टोली रास्वपा कार्यालयमा पुगे पनि रविलाई भने पक्राउ गरेन ।