काठमाडौं । भारतको बेंगलोरमा २९ वर्षीया नेपाली महिलाको शव ३० टुक्रामा काटेर फ्रिजमा राखिएको भेटिएकाे छ । मृतकको पहिचान महालक्ष्मी दासको रूपमा गरिएको छ, उनी स्थानीय मलमा काम गर्ने गरेकाे पनि खुलेकाे छ ।
शुक्रबार दिउँसो ३ः३० बजे घरधनीले पीडितकी आमा र दिदीलाई घरमा आएको दुर्गन्धको कारण बोलाएपछि यो भयानक हत्याको घटनाबारे जानकारी प्राप्त भएको थियाे। पीडितका आफन्तलाई सम्पर्क गर्न नसकिएपछि यो घटनाले छिमेकी र स्थानीय समुदायमा ठूलो त्रास पैदा गरेको छ।
मृतक बेंगलोरको व्यालिकवल क्षेत्रको पाइपलाइन रोडमा रहेको एक भवनको पहिलो तल्लामा बस्दै आएकी थिइन्। यो घटनाले प्रहरी प्रशासनलाई सक्रिय बनाए पनि हालसम्म हत्याका कारण र संलग्न व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन।
समुदायका सदस्यहरूले यस्तो अमानवीय घटनाबारे गहिरो चिन्ता व्यक्त गर्दै यसलाई सामान्य बनाउनु नहुने बताएका छन् । यस घटनाले बेंगलोरको सुरक्षा र महिला हिंसा विषयमा गम्भीर प्रश्न समेत उठाएको छ।
अझै पनि परिवारका कुनै सदस्यहरूसँग सम्पर्क नभएको हुँदा महालक्ष्मीको घरको ठेगाना र पृष्ठभूमि स्पष्ट छैन। यस घटनाले बेंगलोरमा रहेका नेपाली समुदायमा पनि ठूलो चासो र चिन्ता उत्पन्न गरेको छ।
प्रहरीले घटना स्थलमा अनुसन्धान गरिरहेको छ र पीडितका परिवारका सदस्यहरूलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ। स्थानीयले तत्काल सजग रहन र यस्ता घटनाबारे सचेत रहनु पर्नेमा जोड दिएका छन्।
पश्चिमाञ्चल महाशाखाका एसीपी सतीश कुमारले अनुसन्धान लामो समयसम्म हुनेसक्ने जानकारी दिएका छन् । प्रहरीका अनुसार महालक्ष्मीको मोबाइल फोन स्वीचअफ भएको दिन सेप्टेम्बर २ वा त्यसपछि हत्या भएको हुन सक्ने अनुमान गरेका छन् ।
उनीहरूले कल रेकर्ड जाँच गरिरहेका छन् । “यो अचम्मको कुरा हो कि उनको परिवारका कुनै पनि सदस्यले उनलाई यति लामो समयसम्म सम्पर्क गर्न खोजेनन् । हामी उनीहरूलाई यस बारे सोध्नेछौँ,” एक अधिकारीले भने ।