काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ सत्रमा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओली र मोदीबिच भेटवार्ता तय भएको हो ।
भारतबाहेक दक्षिण एसियाका बंगलादेश र पाकिस्तानका सरकार प्रमुखसँग समेत प्रधानमन्त्री ओलीको भेटवार्ता तय भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी बस्ने होटेल लोटे न्युयोर्क प्यालेसमा दुई प्रधानमन्त्रीबिच भेटवार्ता हुनेछ । परराष्ट्र मन्त्रालयको प्रोटोकल डिभिजनले तयार गरेको कार्यक्रम पुस्तिकाअनुसार ओली–मोदी भेट स्थानीय समयअनुसार ५ः३० देखि तय भएको छ ।
ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग पहिलोपटक भेट हुन लागेको हो । ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता दिइसकेका छन् । दुई देशबिचका सबै विषयमा छलफल गर्ने नेपालको तयारी छ ।
मोदीसँग भेट्नुअघि स्थानीय समयअनुसार आइतबार प्रधानमन्त्रीसँग विभिन्न देशका प्रतिनिधिको भेट हुनेछ ।
महासभामा जाने क्रममा प्रधानमन्त्री ओलीले दक्षिण एसियाका भारत, भुटान, पाकिस्तान र बंगलादेशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले २६ सेप्टेम्बर (अमेरिकी समयअनुसार १० असोज)मा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।