काठमाडौं । यस वर्षकी मिस नेपाल आस्मा कुमारी केसी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य बनेकी छन् ।
उनलाई पार्टीले सिधै केन्द्रीय सदस्य बनाएको छ । राप्रपाले ‘नवीन राप्रपा’ कार्ययोजनाअन्तर्गत ४० वर्षमुनिका २० जनालाई सोझै केन्द्रीय सदस्य बनाउने आकर्षक ‘प्याकेज’ अघि सारेको थियो । त्यसमा उनी छनौट भएकी हुन् ।
विभिन्न मापदण्डका आधारमा अन्तर्वार्तासमेत लिएपछि १० पुरुष र १० महिलालाई केन्द्रीय सदस्यमा मंगलबार मनोनयन गरिएको हो । मनोनितहरूको सूचीमा आस्माको नाम पनि छ ।
यसै वर्ष साउनमा भएको मिस नेपाल प्रतियोगितामा २६ वर्षीया आस्मा विजेता बनेकी थिइन् । मिस नेपालको ३०औं संस्करणमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी थिइन्। उनी मिस वल्र्डमा भाग लिन बाँकी नै छ । सोसल वर्कमा स्नातक गरेकी आस्माले इम्पोर्ट डिस्ट्रिब्यूसन एक्सपर्ट व्यवसायमा पनि संलग्न छिन् ।
मिस नेपालपछि दिएका विभिन्न अन्तर्वार्तामा उनले भविष्यमा राजनीतिज्ञ बन्ने चाहना व्यक्त गरेकी थिइन् । कुनै पनि राष्ट्रिय दलको केन्द्रीय तहमा पुग्ने उनी पहिलो मिस नेपाल हुन् ।