बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

मिडिया दुरुपयोगमा प्रेस काउन्सिलकाे निगरानी : स्वनियमन प्रणालीको विकास गर्नुपर्ने अध्यक्ष बस्नेतकाे धारणा

बिहिबार, असोज ३ २०८१

काठमाडौं । मिडियामा गलत प्रस्तुति भए सिंगो समाजमा गलत भाष्य स्थापित हुने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको भनाइ रहेको छ । यसर्थ यस्ता गलत कुरालाई रोक्न काउन्सिलले केही समयदेखि रचनात्मक पत्रकारितालाई अभियानकै रूपमा बहस समेत चलाउँदै आएको छ । प्रेस काउन्सिलको नेतृत्वमा बस्नेत आएदेखि नै मिडिया दुरुपयोग हुन नदिन निगरानी बढाएको पाइन्छ । परम्परागत तथा न्यू-मिडियाले दिने विषयवस्तु, पत्रकार/सञ्चारकर्मीको व्यवहार र पत्रकारितामा देखिएका विभिन्न विकृति विसङ्गतिका विषयमा काउन्सिलले निरन्तर निगरानी गरिरहेकाे अध्यक्ष  बस्नेतको दाबी छ ।

काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा संविधान र कानुनले दिएको जिम्मेवारी पूरा गरिरहेको अध्यक्ष बस्नेतको भनाइ छ ।

साथै पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने र त्यसलाई देशव्यापी बनाउनु पर्नेमा अध्यक्ष बस्नेतले भन्दै आएका छन् । त्यतिमात्र होइन उनले पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने कुरालाई काउन्सिलको बोर्ड बैठकबाट निर्णय नै गराएका छन् ।

प्रेस काउन्सिलले पछिल्लो समयमा एक पक्षीय, आधारहीन र तथ्यहीन सूचना सम्प्रेषण गर्ने युट्युबसहितका मिडियालाई कानुनी कारबाही गर्दै आएको छ। युट्युब र केही अनलाइन सञ्चारमाध्यम गलत सूचनाको पछि लाग्न नहुने अध्यक्ष बस्नेतले बताउँदै आएका छन् ।  प्रेस स्वतन्त्रताको नाममा दुरुपयोग हुनसक्ने तिर पनि काउन्सिलले निगरानी बढाएको पाइन्छ सामाजिक सञ्जालको सदुपयोग भए देश बन्ने र यसको दुरुपयोग भए अफवाह र भ्रम फैलिँदा समाजमा नकरात्मकता बढ्दै जाने हुन्छ ।

अध्यक्ष बस्नेतले सञ्चार माध्यमलाई मर्यादित बनाउन मिडिया साक्षरता (लिटिरेसी) मा सबैले ध्यान दिनुपर्ने सुझाव दिँदै आएका छन् । पत्रकारितामा नयाँ पुस्ताको आगमन बढिरहेको र यो पुस्ताकालागि आचारसंहितालगायतका विषयमा साक्षरता कार्यक्रम बढाउनुपर्ने उनको मत रहेको छ ।

त्यतिमात्र होइन अध्यक्ष बस्नेत पर्यावरण जोगाउन पनि पत्रकार तथा मिडियाको हात हुने र यस विषयमा कलम चल्नु पर्ने बताउँदै आएका छन् । हिमाल र पर्यावरण जोगाउनसके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने उनको तर्क छ ।

बस्नेतले आफूले काउन्सिलकाे नेतृत्व सम्हालेदेखि नै सामाजिक सञ्जाल प्रयोग गरी चलेका सञ्चार माध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोगको सम्बन्धनमा पनि निगरानी बढाउँदै लगेका छन् ।

उनले परम्परागत तथा न्यु मिडियाले दिने विषयवस्तु, पत्रकाररसञ्चारकर्मीको व्यवहार र पत्रकारितामा देखिएका विभिन्न विकृति विसङ्गतिका विषयमा काउन्सिलले नै बोल्नुपर्ने उनको मत छ । अध्यक्ष बस्नेतले युट्युब माध्यमहरुले पनि पत्रकारिताको धार समातेर समाचार सम्प्रेषण गर्नु पर्ने बताउँछन् । सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको भन्दै अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रहसमेत गर्दै आएका छन् ।

अध्यक्ष बस्नेत काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने भए पनि पत्रकारले समेत एउटा सीमामा बसेर लेख्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । स्रोत साधनको सीमितता हुँदाहुँदै पनि एक कदम अघि बढेर काउन्सिलले काम गरिरहेको उनी बताउँछन् ।

काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्धनमा संविधान र कानुनले दिएको जिम्मेवारी पूरा गरिरहेको अध्यक्ष बस्नेतको भनाइ छ। जिम्मेवार निकायले आ–आफ्नो भूमिका निर्वाह गर्दा प्रेस स्वतन्त्रता हननका घटना नदोहोरिने सुनिश्चितता हुने उनको तर्क छ । मिडिया पीडितलाई न्याय दिलाउने संस्थाका रूपमा काउन्सिल रहेको र समाचार लेखेकै आधारमा अप्ठेरो अवस्था सिर्जना गर्न नहुने पनि उनको धारणा छ । यस्तै न्युज रूमले पनि आन्तरिक आचारसहिंता बनाएर स्वनियमन प्रणालीको विकास गर्नुपर्ने उनको सुझाव छ ।

अध्यक्ष बस्नेतले पछिल्लो समय सञ्चार माध्यममा खोजमूलक समाचार कम र ‘ढाकछोप र कपी पेस्ट पत्रकारिता’ बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले पत्रकारिताको विकृतिका रुपमा ढाकछोप र बार्गेनिङ पत्रकारितालाई बढावा हुन नदिन काउन्सिलले सार्थक पहल गरिरहेको जिकिर समेत गरेका छन् ।

कसैको गलत प्रवृत्तिलाई उजागर गर्नुपर्नेमा सञ्चार माध्यमले नै ढाकछोप गरेर भ्रम पैदा गर्नु चिन्ताको विषय भएको भन्दै उनले सञ्चार माध्यमले सम्प्रेषण गरेका विषयमाथि फरक अनुसन्धान र खोज गर्ने अवस्था आएको उनको भनाइ छ ।

दोलखा निवासी पत्रकार बस्नेत विसं २०७८ को जेठमा प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका थिए । चार वर्षका लागि नियुक्त भएका बस्नेतसँग नेपाल टेलिभिजनको बोर्ड सदस्य एवं‌ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत भएर काम गरेका उनमा विभिन्न मिडियामा काम गरेको अनुभव छ ।

सञ्चार माध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउन प्रेस काउन्सिल नेपालको महत्वपूर्ण भूमिका रहेको हुन्छ । पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण सम्वर्द्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्नुका साथै नेपाल सरकार र सञ्चार माध्यमकाबिच पुलको रूपमा कार्य गर्ने अहम् जिम्मेवारी काउन्सिलको रहेको छ ।

काउन्सिलले पत्रकार आचारसंहिता उल्लङ्घनका विषयमा उजुरी सुन्ने, त्यसउपर अध्ययन अनुसन्धान गरी आवश्यक कारबाही गर्ने, आचारसंहितासम्बन्धी जागरण अभियान सञ्चालन गर्ने, आमसञ्चार माध्यममा आचारसंहिताको अनुगमन गर्ने, पत्रकारिताको विकासका लागि सरकारलाई सुझाव दिने प्रमुख कार्यहरु गर्दै आएको छ ।