बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

संविधान संशोधन प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छ : अध्यक्ष दाहाल

बिहिबार, असोज ३ २०८१

काठमाडौं ।  सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकाङ्क्षाको प्रतिबिम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

सभामुख घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरे । “नेपालको संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको छ, हाम्रो संविधान अधिकारको वास्तविक स्रोत हो, संविधान कार्यान्वयनका लागि तत् तत् निकायले आफ्नो कर्तव्य निर्वाह गरेको अवस्थामा अधिकार खोज्न टाढा जानु पर्दैन” शुभकामना सन्देशमा भनिएको छ,“तसर्थ नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो ।”

सभामुख घिमिरेले संविधान बमोजिमका बाँकी कतिपय कार्यभार पूरा गरे पनि केही कानुन निर्माणको चरणमा रहेको र सङ्घीय संसद्ले संविधानको एक तिहाईभन्दा बढी धाराहरू कार्यान्वयनका लागि विभिन्न कानुन निर्माण गरिसकेको उल्लेख गरेका छन् ।

सन्देशमा संविधान कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहबाट समेत कानुन बनाइएको उल्लेख गर्दै उनले भनेका छन्, “संविधान दिवसका दिन सम्पूर्ण राजनीतिक शक्तिलाई साझा विन्दुमा उभिएर बाँकी कानुन निर्माणमा समझदारी पहिल्याउन अपिल गर्दछु । संविधान जारी भएको १० वर्ष प्रवेश गरेसँगै संविधान कार्यान्वयनसँग सम्बन्धित अभ्यासहरू भइसकेका छन् । नयाँ संविधान बमोजिम तीनवटै तहका निर्वाचन सम्पन्न भएका छन् । लोकतान्त्रिक मूल्य र सङ्घीयतामा आधारित शासन प्रणालीलाई स्थापित गरेको नेपालको संविधान कार्यान्वयनको चुनौतीपूर्ण अवस्था समेत पार भएको छ ।”

सभामुख घिमिरले नेपाललाई लोकतान्त्रिक शासन व्यवस्थासम्म ल्याउन भएका आन्दोलन तथा सङ्घर्षहरूमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन् ।

यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पनि संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याएका छन् । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार र परिमार्जन स्वभाविक प्रक्रिया भएको बताए ।

अध्यक्ष दाहालले भने, “पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क संविधान निर्माणकर्ता र संविधान स्वयम्का लागि मान्य हुन सक्दैनन् । विगतमा गरिएका उपलब्धिमा गर्व र गर्न नसकिएका विषयमा समीक्षा गर्दै अघि बढ्नुमा नै यस दिवस मनाउनुको सार्थकता हुनेछ ।”
संविधान जारी भएयता सङ्घीय संसद्ले थुप्रै ऐन कानुन बनाएको र अझैँ केही महत्वपूर्ण कानुन बनाउन बाँकी रहेको जनाउँदै संविधानअनुकूलका कानुन छिटो बनाई शासन व्यवस्थालाई संस्थागत गर्नु सबैको दायित्व भएको बताए । अध्यक्ष दाहालले भने, “दिवसले संविधानको कार्यान्वयनमा प्रतिबद्ध रहन, इमान्दारितापूर्वक पालना गर्न र जनताप्रति उत्तरदायी बन्न प्रेरणा प्राप्त होस्, संविधान दिवसको हार्दिक शुभकामना ।”

यसैगरी नेपालको राजनीतिक इतिहासमा संविधानसभाबाट संविधान निर्माण गर्नु ऐतिहासिक परिघटना भएको उल्लेख गर्दै उनले आफ्ना प्रतिनिधिले बनाएको संविधानबाट शासित हुने सात दशक लामो जनचाहना वर्तमान संविधानबाट पूरा भएको स्मरण गरे । “दशवर्षे सशस्त्र युद्ध, २०६२/६३को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका मधेस आन्दोलन, आदिवासी जनजाति, थारू, दलितका विभिन्न आन्दोलनको योगफलका रूपमा नेपालमा संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएको हो”, अध्यक्ष दाहालले शुभकामना सन्देशमा उल्लेख गरेका छन्, “सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने गरी जारी संविधानमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी÷समानुपातिक प्रणालीलगायत महत्वपूर्ण उपलब्धि लिपिबद्ध गरी आम नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन संविधान जारी भएको यस दिनले सबैलाई संविधान कार्यान्वयन र यसको पूर्णपालनाका लागि प्रेरणा दिने विश्वास व्यक्त गर्दछु ।”