बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सहकारी छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

बिहिबार, असोज ३ २०८१

काठमाडौं । सरकारले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको छ ।

बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । उनकाअनुसार सरकारले संसदमा प्रश्तुत भएको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धी छानविन प्रतिवेदन, २०८१ लाई कार्यान्वयनका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउने निर्णय भएको बताए ।

उनले समिति संयोजकले संसदमा प्रश्तुत गरेको समितिको प्रतिवेदन र कारबाहीको सिफारिसअनुसार सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने बताए ।
उनले भने, ‘अस्तिको संसदमा प्रश्तुत भएको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धी छानविन प्रतिवेदन, २०८१ जुन प्रश्तुत भएको छ, संसदमा पेश भएपछि सभामुखज्युले कार्यान्वयनको लागि मन्त्रीपरिषद्मा पठाउने निर्णय भएको थियो ।  मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन, २०८१ कार्यान्वयनको लागि सम्बन्धित मन्त्रालयमा पठाउने । समितिको प्रतिवेदन पेश गर्दा समिति संयोजकले जे भन्नुभएको थियो, हामी त्यही कार्यान्वयन गर्नेछौँ ।’

मन्त्री गुरुङले वर्तमान सरकारको साझा संकल्प तथा नीतिगत प्रतिवद्धता कार्यान्वयन गर्ने निर्णय भएको बताए। मन्त्रीपरिषद् बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिवद्धता पारित गरेको उनले बताए ।

संसदीय विशेष समितिले सूर्य दर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको निष्कर्षसहित जीबी राई, कुमार रम्तेलर, रवी लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।