काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सबै विचार, समुदाय, भूगोल, लिङ्ग, जाती र धर्मका भावनालाई संविधानले संरक्षण गरेको बताए ।
संविधान दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण भएको उनले बताएका छन् । यसले सबैलाई अधिकार सम्पन्न बनाएको बताउँदै प्रधानमन्त्री अोलीले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको उल्लेख गरेका छन् ।
यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्ने बताउँदै प्रधानमन्त्री ओलीले, ‘जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन। यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा माम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ। यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ। सबै दिदीबहिनी, दाजुभाइमा संविधान दिवसको शुभकामना’ भनेका छन् ।